संसद सुचार गर्ने बारेमा काँग्रेसका ३ नेता र एमाले अध्यक्ष ओली बीच भेटवार्ता


पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाली काँग्रेसका ३ नेता र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । संसद सुचारु गर्न छलफलका लागि कांग्रेस नेता त्रय बिमलेन्द्र निधी, ज्ञानेन्द्र बहादुर कार्की र प्रदिप गिरी अध्यक्ष ओली निवास बालकोट पुग्नु भएको हो ।

२ घण्टा भएको भेटपछि संचारकर्मीलाई प्रतिकृया दिंदै कांग्रेस नेता निधीले अध्यक्ष ओलीसँग संसदको अबरोध अन्त्य गर्ने बारेमा छलफल भएको बताउनुभयो ।

नेता निधीले संसद अबरोधलाई हटाएर संसद सुचारु गर्ने सन्दर्भमा पार्टीको तर्फबाट आफूहरु अध्यक्ष ओलीसँग छलफल गर्न आएको बताउँदै वार्ता सकारात्मक भएको बताउनुभयो ।

निधीले प्रधानमन्त्रीको निर्वाचनलाई प्राथमिकता दिएर प्रधानमन्त्रीको निर्वाचनमा कांगेसलाई सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरिएको बताउनुभयो ।

भेटवार्ता पछि संचारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाउन पाए हुन्थ्यो भन्ने कांग्रेस नेताहरुको धारणा रहेको बताउँदै उहाँहरु यसकै निम्ती छलफल गर्न आउनु भएको जानकारी दिनुभयो ।

एमाले सहमतिको बाधक नरहेको बताउँदै अध्यक्ष ओलीले सत्ता पक्षको दम्भ र अनुचित कार्यले समस्या देखिएको प्रतिकृया दिनुभयो ।समस्या समाधानका लागि एमाले सकारात्मक भएको बताउँदै आज साँझ पनि दलहरुको बैठक बस्ने र निष्कर्ष निस्कने आशा ब्यक्त गर्नुभयो ।
संसदको प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री चयन प्रक्रियामै सहभागिता नजनाएपछि र संसद सुचारु गर्न नदिए पछि सहमतिको प्रयास स्वरुप यो भेटवार्ता भएको हो ।

प्रधानमन्त्री पदका लागि संसद सचिवालयमा कांग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ ।