प्रतियोगितामा पहिलो सतक प्रहार हसिमबाट

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो सतक प्रहार गरे पनि हसिम अन्सारीले आफनो टोली मध्यमाञ्चललाई जित दिलाउन सकेनन्।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हसिमको सतकको सहयोगमा मध्यमाञ्चलले शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १ सय ८८ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य मध्यमाञ्चलले जोगाउन विफल भएको थियो। एपीएफले ६ विकेटको जित हात पारेर हसिमको सतकलाई छायामा पारेको थियो। सो लक्ष्य विभागिय टोलीले चार विकेटको क्षेतिमा ३४औं ओभरमा प्राप्त गरेको थियो।

यो जितसँगै एपीएफ समूह ए को शीर्ष टोली बन्दै सेमिफाइनलमा पुगेको छ। सोही समूहको अर्को टोली पश्चिमाञ्चल उपविजेताको बनी अन्तिम चारमा पुग्यो भने मध्यमाञ्चल जितकै पर्खाइमा रहँदै समूह चरणबाटै बाहिरिएको थियो। त्यसो त एपीएफ र पश्चिमाञ्चल यो खेल अगाव नै अन्तिम चारमा प्रवेश गरिसकेका थिए। यो खेलको नतिजाले केवल शीर्ष टोलीको टुंगो गरेको थियो।

एपिएफको जितमा अनिल कुमार शाहले सर्वाधिक ७८ रन जोडेका थिए। उनले ८५ बलको सामना गर्दै ११ चौका र दुई छक्का प्रहार गरे। यस्तै ओपनर सन्दिप सुनारले ४१ रन बनाए। आसिफ शेख ३२ रन बनाएर आउट हुदा कप्तान ज्ञानेन्द्र मल्ल २८ रनमा नटआउट रहेका थिए। मध्यमाञ्चलका शशी केशरीले तीन विकेट लिन सफल भएका थिए।

यसअघि टस हारेरे मध्यमाञ्चलले ४८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो। चोटले नियमित कप्तान सरद भेषवाकरको स्थानमा हासिमले कप्तानी सम्हालेका थिए। उनले कप्तानी भुमिका राम्ररी नै निभाए पनि। उनले १ सय २४ बलमा १२ चौका र एक छक्काको सहयोगमा १ सय १ रन बनाएका थिए। उनी नवौं विकेटको रूपमा अविनास बोहराको बलमा आउट भएका थिए। उनी पछि सोनु तामाङले २७ रन बनाए भने अन्यले दोहोरो अंक छुन सकेनन्।

मध्यमाञ्चलको लागि एपीएफका कप्तान ज्ञानेन्द्र मल्ल घातक बनेका थिए। १० ओभरमा ४० रन दिएर चार विकेट लिएर मल्ल म्यान अफ द म्याच घोषित भएका थिए। त्यस्तै अविनाश बोहरा र भुवन कार्कीले दुई–दुई तथा यज्ञमान कुमार र सन्दिप जोराले एक–एक विकेट लिए।
प्रतियोगिताको सेमिफाइनल खेल आइतबारबाट शुरु हुनेछ। पहिलो सेमिफाइनलमा समूह ‘ए’ विजेता एपिएफले समूह ‘बी’ उपविजेता पुलिससँग खेल्नेछ। यस्तै अर्काे सेमिफाइनलमा समूह ‘बी’ विजेता आर्मीले समूह ‘बी’ उपविजेता पश्चिमाञ्चलको सामना गर्नेछ।