राडवानस्का कर्नेटसँग पराजित

0
Shares

पेरिस, (एजेन्सी)
महिला सिंगल्समा नवौं वरियता प्राप्त एग्निसज्का राडवानस्का स्तब्ध हुँदै फ्रेन्च ओपनको तेस्रो चरणबाटै बाहिरिएकी छन्।

फ्रान्सकी घरेलु खेलाडी एलीज कर्नेटले राडवानस्कालाई ६–२, ६–१ ले सहजै हराएकी हुन्। हेड टु हेडमा पोलिस खेलाडी राडवानस्काले कर्नेटविरुद्ध सात खेलमा जितेकी थिइन्। तर शनिबारको खेलमा भने उनलाई सो सुखद नतिजा दोहोर्याउने क्षण बनेन। रोलान्ड ग्यारोसको क्लेकोर्टमा शुरुदेखि नै कर्नेट हावी भएकी थिइन्। उनले पहिलो सेटमा १६ विनर्स प्रहार गरेकी थिइन्।

दोस्रो सेटमा पनि कर्नेटको प्रदर्शन अझै आक्रमक बनेपछि राडवानस्काको लागि यस सिजनको फ्रेन्च ओपन तेस्रो चरणसम्मको लागि सीमित भयो। उनी यस प्रतियोगितामा लगातार चार वर्ष वरियताविहीन खेलाडीसँग हारेकी छिन्। सन् २०१४ मा क्रोएसियाकी आला टोमलयानोभिचसँग तेस्रो चरणमा, २०१५ मा जर्मनीकी एनीका बेकसँग पहिलो चरणमा र गत वर्ष बुल्गेरियाकी स्वेटाना पिरोन्कोभासँग चौथो चरणमा उनको फ्रेन्च ओपन जित्ने सपना चकनाचुर भएको थियो।

फ्रेन्च महिला खेलाडी कर्नेटको भने यो ग्रान्डस्लाम करियरमा तेस्रो पटक चौथो चरणमा पुगेकी हो। उनको क्वाटरफाइनल पुग्नको लागि फ्रेन्च खेलाडी कारोलिन गार्सियासँग सामना हुनेछ। गार्सियाले हसीह सु वेईलाई म्याराथन खेलमा ६–४, ४–६, ९–७ ले हराएकी थिइन्।

यस्तै तेस्रो वरियता प्राप्त सिमोना हालेप पनि फ्रेन्च ओपनको अन्तिम १६ मा पुगिन्। रसियाकी डारिया कासाटकीनालाई ६–०, ७–५ सेटले हराएर हालेप लगातार अघि बढेकी हुन्। २५ वर्षीया रोमानीयन खेलाडी फ्रेन्च ओपनको विजेता बन्नेमा दावेदारी रहेकी छिन्। उनले यसअघि मेड्रिड ओपन जितेकी थिइन् भने गत महिना रोममा फाइनलमा पुगेकी थिइन्। उनले क्वाटरफाइनल पुग्न स्पेनकी कार्ला स्वारेज नभारोसँग खेल्नेछिन्।