मोरङकी निकिता नयाँ मिस नेपाल


प्रतियोगी नम्बर १४ लिएर प्रतियोगितामा उत्रिएकी मोरङकी निकिता चाण्डक नयाँ मिस नेपाल चुनिएकी छिन्। हिडन ट्रेजरद्वारा आयोजित नेपालकै पहिलो सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१७ मा निकिता १८ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल सुन्दरीको चम्किलो ताज पहिरिन सफल भएकी हुन्।

उनी मिस पपुलर च्वाइस र मिस कन्फिडेन्स पनि भइन्। उनले नयाँ मिस नेपालको ताजसँगै १ लाख रुपियाँका साथमा स्कुटर पाएकी छिन् भने नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्डमा स्पर्धा गर्ने अवसर पाएकी छिन्। राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित प्रतियोगितामा निकिताले देश निर्माणमा महिलाको भूमिकाबारे सोधिएको निर्णायक प्रश्नमा विवरणसहित सटिक जवाफ दिँदै मिस नेपालको ताजलाई आफ्नो बनाएकी हुन्।

प्रतियोगितामा वीरगन्जकी रोजिना श्रेष्ठ मिस नेपाल अर्थ भइन्। उपाधिवापत उनले ७५ हजार रुपियाँ पाइन् भने मिस अर्थमा नेपालका तर्पmबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। त्यसै गरी दाङकी नीति शाह मिस नेपाल इन्टरनेसनल भएकी छिन्। मोडलसमेत रहेकी उनले उपाधिवापत ५० हजार रुपियाँ प्राप्त गरेकी छिन् भने मिस इन्टरनेसनलमा सहभागिताको अवसर प्राप्त गर्नेछिन्। यसै वर्ष थपिएको मिस नेपाल एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि भने ललितपुरकी सहारा बस्नेतले जितेकी छिन्।

निकै कौतूहलताका साथ सम्पन्न प्रतियोगितामा अनुशा लम्साल मिस फोटोजेनिक, वर्षा पोखरेल मिस हेयर, दृष्टि कटुवाल ब्युटी विथ पर्पस, रोजिना श्रेष्ठ मिस फ्रेन्डसिप, निकी शाह मिस फेसिनो, सहारा बस्नेत मिस इन्टुलेक्चुअल, नम्रता गुरुङ मिस ट्यालेन्ट, निकी शाह मिस बेस्ट कम्पलेक्सन, मञ्जरी सिंह मिस एथ्लेटिक्स भए। प्रतियोगितामा विजेता चयन गर्नुअघि उत्कृट ७ चयन गरिएको थियो। उत्कृष्ट ७ बाट विजेता छनोट गरिएको थियो।