नवयुगको टोलीमा पुनरागमन


काठमाडौं, (नेस)
भारतविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि सार्वजनिक गरिएको नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम २० खेलाडीमा नवयुग श्रेष्ठको पुनरागमन भएको छ।

तर ग्योटुकी कोजीको सो टोलीमा स्ट्राइकर अनिल गुरुङ र कर्ण लिम्बू भने परेनन्। पछिल्लो खेल फिलिपिन्सविरुद्ध चोटका कारण अनुपस्थित रहेका नवयुगको आगमन भएको हो। प्रशिक्षक कोजीले भारतविरुद्धको खेलका लागि तीन जना स्ट्राइकर छनोट गरेका हुन्। जसमा अनिल र कर्णलाई टोलीबाट हटाएर नवयुग, भरत खवास र विमल घर्तीमगरलाई फरवार्डको जिम्मा दिएका छन्।

त्यसो त कर्णले फिलिपिन्सविरुद्ध अन्तिम टोली सूचीमा परे पनि खेल्न भने पाएनन्। उनले २०१४ मा यमनविरुद्ध खेलेको मैत्रीपूर्ण खेल नै नेपालका लागि खेलेको एक मात्र खेल थियो। अनिलले भने विगत एक वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्न पाइरहेका छैनन्।