सूर्य नेपाल प्रिमियर गल्फ हुँदै


नेपाल समाचारपत्र,काठमाडौं
सूर्य नेपाल गल्फ टुरको प्रतिक्षित अन्तिम प्रतियोगिता नवांै संस्करण सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन्सिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा शुरु हुँदै छ।

सर्वाधिक नगद पुरस्कर राशीको प्रतियोगितामा खेलाडीहरूले १२ लाख नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको प्रमुख आकर्षण नगद पुरस्कार नै हो। विजेताले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधिसँगै नगद २ लाख २० हजार प्राप्त गर्नेछ। प्रतियोगिताको प्रमुख दावेदार हुन नेपाल नम्बर एक चर्चित गल्फर शिवराम श्रेष्ठ।

१ दशकयता भित्र्याएका उपाधिले शिवरामको श्रेष्ठता मात्रै प्रमाणित गर्दैन, उनका प्रतिस्पर्धी नै छैनन् कि भन्ने पनि देखाउँछ। घरेलु गल्फमा एकछत्र राज गरिरहेका शिवराम सर्वाधिक उपाधी जित्ने खेलाडी हुन्। सूर्य नेपाल टुरको नवौं सिजन जारी रहँदा अहिलेसम्म भएका ७५ प्रतियोगितामध्ये शिवराम एक्लैले ३३ उपाधि हात पारेका छन्। उनको यो कीर्तिमान तोड्न असम्भव त नहोला, सहज भने पक्कै छैन।

‘एमेच्योर’ छँदै शिवरामले सन् २००५ मा सूर्य नेपाल ‘वेस्टर्न ओपन’ जितेर उपाधि हत्याउने क्रमको शुरुआत गरे। टुरबाहेक २ उपाधिसहित उनले करियरमा ३५ उपाधि आफ्नो नाममा लेखाएका छन्। सन् २००७ मा थाइल्याण्डको सिंह गल्फ टुर खेलेपछि शिवरामले पछाडि फर्किनुपरेको छैन। एकपछि अर्को सफलताका कथा रचिएका छन र उपाधिको चाङ पनि थपिँदो छ।

शिवरामले करियरकै ठूलो सफलता सन् २०१३ मा साक्षात्कार गरे, भारतीय र बंगलादेशका गल्फरलाई पराजित गर्दै सूर्य नेपाल मास्टर्स च्याम्पियन बनेर। त्यही कारण सोही वर्ष शिवराम नेपाली खेलकुदकै प्रतिष्ठित पल्सर स्पोर्टस अवार्डमा ‘प्लेयर अफ द इयर’ को हकदार बने।

यो सिजनका ७ मध्ये ५ उपाधि जितेका शिवरामको अबको लक्ष्य सूर्य नेपाल प्रिमियर गल्फ गल्फ च्याम्पियन्सिप हो। जसको तयारी थालिसकेका छन्। लामो सट प्रहार गर्न माहिर शिवरामको तयारी ब्याटिङमा केन्द्रित छ। पछिल्ला प्रतियोगितामा भन्दा राम्रो नतिजा ल्याउनेमा आत्मविश्वासी शिवरामलाई घरेलु गल्फरबाट खासै डराउनुपर्ने स्थिति छैन।

तर, बंगलादेशसहितका विदेशी खेलाडी भने चुनौती हुन सक्छन्। जसलाई उनी पनि स्वीकार्छन्। सिजनकै सर्वाधिक १२ लाख नगद पुरस्कारको सूर्य नेपाल प्रिमियर गल्फका प्रमुख दाबेदार यिनै हुन्। सिजनको शुरुआतजस्तै अन्त्य पनि सुखद् बनाउने दाउमा छन् शिवराम, जुन असम्भव महत्वकांक्षा होइन।