संकटालाई बीबीसीमाथि दया जागेन

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
सीएमजी संकटाले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) माथि निर्दयी बन्दै जारी ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको क्वाटरफाइनल निकट पुगेको छ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको समूह डी अन्तर्गतको खेलमा संकटाले बीबीसीलाई ८–० गोल अन्तरले हराएको हो। यो जितसँगै समूहमा ६ अंकसहित संकटा नेपाल पुलिस क्लबभन्दामाथि रहेको छ। पुलिसको ३ अंक छ। संकटासँग हारेको बीबीसीको यो दोस्रो हार थियो र टोली समूह चरणबाटै बाहिरिने पीडामा समेत रहेको छ। त्यसो त समूहमा मोरङले पनि अंक जोड्न सकिरहेको छैन।
संकटाको जितमा दीपेश आलेमगर एक्लैले चार गोल गरेका थिए। दीपेशले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा दुई गोल गरेका थिए। त्यस्तै रन्जीत गुरुङले पहिलो हाफमै दुई गोल गरे भने लक्ष्मण गुरुङले अन्तिममा एक गोल गरेका थिए। बीबीसीका सुवास गिरिले आत्मघाती गोलमा संकटालाई एकहोरो जितमा योगदान दिएका थिए।

हिजै सम्पन्न अर्को खेलमा जगदम्बार लुम्बिनी एफसीले हिमालयन शेर्पा क्लबलाई २–० ले हराएर अन्तिम आठमा पुग्ने तय गरेको छ। समूह सी मा लुम्बिनीसँग दुई खेलबाट ६ अंक छ भने हिमालयन हारपछि तीन अंकमा रहेको छ। लुम्बिनीले अर्को खेल जावलाखेलसँग खेल्नेछ भने हिमालयनले न्युरोड टिम (एनआरटी) विरुद्ध खेल्नेछ। लुम्बिनीको जित शुरूआती १० मिनेटभित्र भएको गोलबाट तय भएको थियो। जसमा प्रिन्सले चौथो मिनेटमा गोल गरेर अग्रता दिलाउँदा नवौं मिनेटमा अमृत गुरुङले अग्रता दोब्बर पारेका थिए। यसपछि भने दुबै टोलीबाट कुनै गोल भएको थिएन।