गीतकार कुसुम गजमेरको निधन

0
Shares

पिरती आफैं हुँदो रैछ, वीरताको चिनो वीरको सन्तान, माया के होलाजस्ता दर्जनौं कालजयी र लोकप्रिय गीतहरूकी सर्जक कुसुम गजमेरको निधन भएको छ।
कलेजोको समस्यासँग जुध्दै आएकी उनको उपचारका क्रममा भारतको मुम्बईमा बिहीबार बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी गराएको छ। उनले धेरैजसो आफ्नो निर्माता, निर्देशक तथा अभिनेता ज्वाइँ तुलसी घिमिरेका फिल्महरूका लागि गीत लेखेकी थिइन्। अन्याय, कुसुमे रुमाल, चिनो, लाहुरे, बेहुली, बाँसुरी, दुई थोपा आँसु, दक्षिणा, दर्पणछायाजस्ता फिल्मका लागि उनले दर्जनौं गीत लेख्दै आएकी थिइन्। उनीद्वारा रचित के सोचें मैले के भयो अहिले, चियाबारीमा हो चिया बारीमा, कसरी भनुँ म मनको कुरा यो, झझल्को लिएर आएछ सावन, मोहनी लाग्ला है, रेली खोला बगर काफल पाक्यो लहर, यो मुटुलाई कसरी सम्झाई बुझाऊँलगायतका दर्जनौं गीतहरू अहिले पनि रुचाइएका गीतमा पर्छन्।

२००२ साल असोजमा भारतको दार्जिलिङमा जन्मिएकी कुसुम ७३ वर्षकी थिइन्। उनी ख्यातिप्राप्त संगीतकार रनजित गजमेरकी पत्नी, अभिनेत्री तथा गीतकार भारती घिमिरेकी आमा र निर्देशक तुलसी घिमिरेको सासू हुन्। उनको दुई छोरी र एक छोरा छन्।