शान्तिसेना दोब्बर बनाउन पहल


नेपाल समाचारपत्र
काठमाडौं
विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि योगदान पुर्याउँदै आएको नेपाली सेनाको उपस्थिति दोब्वर बनाउन सरकारले कूटनीतिक पहल शुरू गरेको छ।

रक्षा मन्त्री बालकृष्ण खाँडले आफू रक्षा मन्त्रालयमा आएपछि गरेको कामका बारेमा जानकारी दिने उद्देश्यले बुधबार आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपाली सेनाले विश्वका १६ देशमा अहिले ४ हजार ५ सयको हाराहारीमा शान्तिका लागि काम गर्दै आएकोमा अब भने त्यसको संख्या ९ हजार पुग्ने बताउनुभएको छ।

उहाँले अहिले नेपाली सेनाको काम कर्तव्यमा केही परिर्वतन आएको र सेनाले मुलुकको रक्षाका साथै मुलुकको विकास निर्माणमा समेत काम गर्ने बताउनुभएको छ।

सेनाको भूमिकालाई अझै बृहत्तर बनाउन अहिलेको संरचनामा केही परिर्वतन गरेको र मुलुक गणतन्त्रमा गएपछि सेनालाई पनि संघीय ढाँचामा लैजानका लागि केही संरचनासमेत परिर्वतन गरेको उहाँले जानकारी दिनुभयो।

अब सेनाको ७ प्रदेशमा ७ वटा पृतना रहने र एउटा पृतना उपत्यकामा राख्ने गरी संरचना परिर्वतन गरेको पनि उहाँले जानकारी दिनुभयो।

नेपाली सेनाले यसअघि विभिन्न द्वन्द्वग्रस्त १५ वटा मुलुकमा शान्ति सेनाका रूपमा काम गर्दै आएकोमा अब १६औं मिसनका रूपमा लिबिया पनि थपिएको जानकारी उहाँले दिनुभयो।

उहाँले मुलुकको राष्ट्रिय सुरक्षा नीति पारित भए पनि कार्यान्वयनमा आउन नसकेको अहिलेको अवस्थामा आफू मन्त्री भएर आएपछि त्यसको कार्यान्वयनका लागि विभिन्न मन्त्रालयमा समन्वय गर्नुपर्ने भएकाले त्यसको समन्वय भएर अब कार्यान्वयनको चरणमा रहेको समेत जानकारी दिनुभयो।

सैन्य कूटनीतिमार्फत सेनालाई सक्षम बनाउन मन्त्रालयले विभिन्न चरणमा काम गर्नुका साथै यसको महत्वका बारेमा विभिन्न मुलुकसँग छलफल भएको समेत उहाँले जानकारी दिनुभयो।

उहाँले मुलुकको अहिलेसम्म प्रतिरक्षा नीति नभएका कारण प्रतिरक्षा नीति बनाउनका लागि पूर्वसचिव माधव रेग्मीको संयोजकत्वमा एउटा टोली गठन गरी प्रतिरक्षा नीतिको मस्यौदा बनाउने काम भइरहेको रक्षा सचिव श्रीधर सापकोटाले जानकारी दिनुभयो।

सचिव सापकोटाले राष्ट्रिय सेवा दलको अहिलेको संरचनालाई अझै बृहत बनाउन कर्मचारीको छुट्टै व्यवस्था गरेको र मुलुकभरका विद्यालयमा अध्ययनरत झण्डै ७ हजार ५ सय विद्यार्थीलाई उक्त तालिममा सहभागी गराउने व्यवस्था गर्न लागेको समेत जानकारी दिनुभयो।

काठमाडौं– निजगढ द्रूत मार्गको निर्माणको जिम्मेवारी पाएको नेपाली सेनालाई दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणस्थल निजगढको सडक बनाउने र बिमानस्थलले चर्चिने जंगलको व्यवस्थापनको जिम्मासमेत नेपाली सेनालाई दिएको जानकारी दिइयो।