‘वान बेल्ट वान रोडबाट नेपाललाई फाइदै फाइदा’

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
चीनले आह्वान गरेको वान बेल्ट वान रोड अवधारणाले नेपाललाई हरेक दृष्टिकोणबाट फाइदै फाइदा भएको एक विज्ञको भनाइ छ।

नर्वेजियन युर्निभसिटी अफ साइन्स एन्ड टेक्नोलोजीका सहप्राध्यापक कृष्णकान्त पन्थीले यो अवधारणाले नेपालमा उत्पादन भएको बिजुलीसमेत तेस्रो देशमा निर्यात गर्न समेत बाटो खुलेकाले नेपालले यसबाट फाइदा लिनुपर्ने बताउनुभयो।
सहप्राध्यापक पन्थीले वान बेल्ट वान रोड चीनको महत्त्वाकाक्षी योजनाले नेपालको विकासमा कोसेढुंगा सावित हुने भएकाले यसबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभयो।

जलविद्युत् विज्ञ पन्थीले मुलुकको समृद्धिका लागि सबैभन्दा ठूलो कुरा भनेको पूर्वाधार हो यसमा चीनले चासो देखाएर नेपाललाई समेत समावेश गरेर जुन परियोजना लागू गर्न लागेको छ, यसबाट नेपाललाई फाइदै फाइदा मात्रै भएको बताउनुभयो।

नेपालले ओवीआरबाट फाइदा लिने मात्रै होइन मुलुकलाई विकसित मुलुकको दाँजोमा पुर्याउन मद्दत गर्ने भएकाले सरकारले भने चासोका साथ काम गर्नुपर्ने बताउनुभयो।

ओवीआरका कारण नेपालमा विदेशी लगानी मनग्य मात्रामा भित्रिने भएकाले त्यसको वातावरण बनाउन सरकारले चासो चाही दिनु पर्ने पन्थीको भनाइ छ।
नेपाल यस्तो देश हो जहांँ उत्पादन हुने जडिबुटी संसारका कुनै पनि मुलुकमा हुँदैन त्यसकारण विदेशी ठूला औषधि कम्पनी नेपाल आउने र नेपालमा नै लगानी गर्ने भएकाले हाल विदेशिएका जनशक्तिले स्वदेशमा नै रोजगारी पाउने अवस्था सिर्जना हुने भएकाले त्यसतर्फ राज्यले अहिले देखि नै प्लान बनाउनु पर्ने उहां बताउनुहुन्छ। नेपाल विश्वमा भुबनोटमा उत्कृष्ट मुलुक हो। ओविआरको सञ्जालले नेपाललाई जोडेपछि विश्वका पर्यटकहरू सडकमार्गबाटै नेपाल आउने र उनीहरूको नेपाल बसाईसमेत लम्बिने भएकाले विदेशी मुद्रा आर्जनमा समेत ठूलो फ्डको मार्ने दाबी उहाँ गर्नुहुन्छ।

मुलुक समृद्धि हुने भनेकै बिजुली र सडक सञ्जालले हो अहिले नेपालका लागि चीनले अघि सारेको ओविआरका कारण नेपाल एसियासंँग मात्रै होइन युरोपसंँग समेत सडक सञ्जालले जोड्ने भएकाले नेपालको उत्पादन एसियाका साथै युरोपका विभिन्न मुलुकमा सजिलै पठाउन सकिने उहाँं दाबी गर्नु हुन्छ।
नेपालको हिमाली क्षेत्रमा उत्पादन भएका स्याउ र जडिबुटी हामीले एक हप्तामानै एसिया र युरोपका ठुला बजारमा पठाउन सकियो भने मुलुकको अर्थतन्त्रमा समेत कायापलट गर्ने सहप्राध्यापक पन्थी बताउनुहुन्छ।

सहप्राध्यापक पन्थी भन्नुहुन्छ–‘नेपालमा उत्पादन हुने बिजुली अझै एक दशकसम्म नेपालले नै खपत गर्ने र त्यसपछि भने नेपालले निर्यात गर्न सक्ने र त्यस बेलासम्म सडक पूर्वाधारको सञ्जालले एशिया युरोप जोड्ने भएकाले बिजुली बेच्न भारत वा चीनको मात्रै भर पर्नुपर्ने अवस्थाको अन्त्य गरिदिने छ।

हाम्रा दुई विशाल छिमेकी मुलुक छन् त्यहाँ उत्पादन भएका हरेक सामान यसअघि नेपाल आउन लामो समय लाग्ने गरेको छ। तर, सडक सञ्जालले छुने बित्तिकै ती सामान एक हप्ताभित्र नेपाल आउने र त्यसको लागत मूल्यसमेत सस्तो पर्ने भएकाले विदेशी सामान समेत सस्तो मूल्यमा नेपालीले खरिद गर्न सक्ने भएकाले नेपालीले अहिलेको मूल्यमा भन्दा पनि सस्तोमा सामान पाउन सक्ने उहांँ बताउनुहुन्छ।