महिला भलिबललाई केएनपीको साथ

0
Shares

काठमाडौं, (नेस)
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताले बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिको साथ पाएको छ।
आगामी जेठ २३ गतेदेखि हुने प्रतियोगिताका लागि शनिबार बानेश्वरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का र बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिका कन्ट्री डाइरेक्टर मनोज मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार प्रतियोगिता ‘केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता’को नामबाट सञ्चालन हुनेछ। मुख्य प्रायोजन गरेबापत कम्पनीले आयोजकलाई नगद पाँच लाख उपलब्ध गराउनेछ।

कन्ट्री डाइरेक्टर मिश्रले भलिबल खेल नेपालको राष्ट्रिय खेल भएकोमा बधाई दिँदै आगामी दिनमा पनि भलिबललाई प्राथामिकता दिने प्रतिबद्धता जनाए। कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र महासचिव जितेन्द्र चन्दलगायतको उपस्थिति रहेको थियो। कम्पनीले मञ्च व्यवस्थापन, ब्यानरलगायतका सम्पूर्ण खर्च बेहोर्ने छ। यस्तै प्रतियोगिताको सह–प्रायोजकका रूपमा शिवम् सिमेन्ट रहेको छ भने विशेष सहयोगीका रूपमा राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिबल संघ, आईएमई रेमिट र डल्फिन चियरले पनि साथ दिएका छन्।

प्रतियोगिताको प्रथम नगद पुरस्कार एक लाख ५० हजारको प्रायोजन क्वायरटुफ म्याट्रेसले प्रायोजन गर्नेछ। त्यस्तै प्रतियोगितामा केएनपी सर्वोकृष्ट खेलाडीलाई एयर एसियाले काठमाडौं मलेसिया–काठमाडौंको आवतजावत हवाई टिकट प्रदान गर्नेछन्। जसमा शेरबहादुर खड्का स्पेशल अवार्डबाट नगद १० हजारसहित एक खेलाडी सम्मानित हुनेछन्। बुद्ध एयरले बेस्ट प्रशिक्षकको उपाधिअन्तर्गत माउन्टेन फ्लाइटको टिकट प्रदान गरिनेछ।

त्यस्तै केएनपी बेस्ट स्पाइकर, केएनपी बेस्ट क्वीकर, केएनपी बेस्ट सेटर, शिवम् सिमेन्ट बेस्ट ब्लकर, शिवम् सिमेन्ट बेस्ट डिफेन्स र केएनपी बेस्ट सर्भर पनि पुरस्कृत गरिनेछ। उत्कृष्ट हुने सबै खेलाडीले जनही तीन हजार रुपियाँसहित आर्कषक ट्रफी प्राप्त गर्नेछन्। केएनपी राइजिङ प्लेयरबाट तीन हजार रुपियाँसहित एक प्रतिभावान् खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ। लिगकम नकआउटका आधारमा जेठ २३ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एपीएफ, न्यु डायमन्ड, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका ६ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपियाँ प्राप्त गर्ने छन्। प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ।