संगीतमा शुरुआत


गायक तुल साम्सुहाङ राईको आधुनिक तथा पप गीतहरूको अडियो एल्बम शुरुआत शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच संगीतकार गणेश रसिक, गायिका कुन्ति मोक्तान, कलाकार प्रकाश आङ्देम्बे तथा साहित्यकार उपेन्द्र सुब्बाले संयुक्त रूपमा सार्वजनिक गरका छन्।

एल्बममा माया, दिन बित्छ पखाईमा, चञ्चले कान्छीको, लाखौं जुनी, जून मुस्काइरहेछ, केवल तिम्रो तथा गोर्खे सलाम बोलका ७ गीत संगृहित छन्। यी गीतमा बाबु बोगटी, किरण गजमेर, डम्बर नेपाली, प्रताप सुब्बा, गणेश सेन्चुरी, प्रवेश राई र टंक बुढाथोकीको संगीत छ भने सौरभ तिम्सिना, डम्बर नेपाली, प्रताप सुब्बा, नवीन प्राचीन, विश्वास लामा र टंक बुढाथोकीको शब्द छ।

कक्षा ५ देखि संगीतमा आकर्षित राईले पथरी, मोरङबाट राजधानी आएर औपचारिक रूपमा संगीतको प्रशिक्षण लिएका थिए। अमेरिका बस्दै आएका उनले सार्वजनिक एल्बम शुरुआतका सबै गीत अमेरिकामै रेकर्ड गराएका थिए।

विमोचन समारोहमा एल्बमको माया बोलको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो।

कार्यक्रममा गायक राईले हास्य अभिनेता सुलेमान शंकर ‘इकु’ द्वारा मूलपानीमा सञ्चालित स्नेह आश्रमका लागि नगद २५ हजार रुपियाँ हस्तान्तरण गरे। यसका साथै एल्बमको बिक्रीबाट आएको रोयल्टीको ४० प्रतिशत रकम पनि उक्त आश्रमलाई प्रदान गर्ने घोषणा गरे।