२० विधामा ग्लोबल अवार्ड

0
Shares

अमेरिकामा गत वर्ष पहिलोपटक भएको ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण यस वर्ष पनि कोलोराडोमा आगामी अगस्ट १९ मा गरिने भएको छ। नेपाल फिल्म सोसाइटी, अमेरिकाको नेपाली टेलिभिजन र बीआरटी नेपाल डट कमले आयोजना गर्न लागेको अवार्डबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले गत वर्ष १२ विधामा भएको अवार्डमा यसपटक ८ विधा थप गरी कुल २० विधामा अवार्ड प्रदान गरिने जानकारी गराए।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले विदेशमा हुने यस प्रकारको अवार्ड फिल्मकर्मीको सम्मान मात्रै नभई नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण एवम् देशको पर्यटन विकासको आधार पनि हुने बताए।

‘हरेक अवार्ड निर्णायकको दृष्टिकोण र मूल्यांकनका आधारमा हुन्छ। तर यो अवार्ड फिल्म र कलाकारको लोकप्रियताका आधारमा तय गरिन्छ’, कार्यक्रममा बोल्दै मल्लले भने– ‘गत वर्ष हामीले निम्तो दिएर पनि भिसाका कारण अवार्ड समारोहमा कतिपय कलाकारलाई स्वागत गर्न नसकिएकाले खल्लो हुन पुग्यो।

यसपटक त्यस्तो नहोस भन्ने चाहन्छौं।’ कार्यक्रममा गत वर्षको अवार्डमा सहभागी भई अवार्ड गरेका अभिनेता सुनिल थापा र अभिनेत्री वसुन्धरा भुसालले आफ्ना अनुभव शेयर गरेका थिए। ‘मेरो लक्ष्य ओस्कार अवार्ड हो। त्यसका लागि ग्लोबल नेपाली फिल्म अवार्डले मलाई एक कदम अघि पुर्याएको अनुभूति भयो’ –उनको भनाइ थियो।