अनुदानको इन्डक्सन चुलोको मूल्य ४ हजार


हेमन्त जोशी, काठमाडौं

नले अनुदानमार्फत् नेपाललाई दिएको इन्डक्सन चुलोको मूल्य ४ हजार रुपियाँ निर्धारण भएको छ। शुक्रबार बसेको नेसनल ट्रेडिङ सञ्चालक समितिको बैठकले केरुङ नाकाबाट भित्रिएको १३ सय थान इन्डक्सन चुलोको मुल्य ४ हजार रुपियाँ निर्धारण गरिएको ट्रेडिङका प्रवक्ता गोपालप्रसाद गुरागाँईले जानकारी दिनुभयो।

त्रिभुवन विमानस्थलको भन्सारमा थन्किएको १० हजार थान इन्डक्सन चुलोको मूल्य भने निर्धारण भईनसकेको गुरागाँईले बताउनुभयो। चीनले नेपाललाई आर्थिक सहायतामा समायोजन हुने गरी ८ करोड ५० लाख रुपियाँ बराबरको इन्डक्सन चुलो नेपाल पठाइएको थियो। २०७२ साल मंसिर २८ गते १३ सय थान केरुङबाट र पछि थप १० हजार थान हवाईमार्ग हुँदै नेपाल भित्रिएको थियो।

उक्त इन्डक्सन चुलो नेपाल भित्रिएपछि संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमिति र मूल्य निर्धारण समितिले प्रतिगोटा मूल्य ११ हजार ९ सय ९५ रुपियाँ निर्धारण गर्दै नेसनल ट्रेडिङलाई बिक्री वितरणको जिम्मा दिएको थियो।

मूल्य निर्धारण समितिले खरिद मूल्य नै ८ हजार रुपियाँ निर्धारण भएको इन्डक्सन चुलोमा भन्सार राजस्व र मूल्य अभिवृद्धि करसमेत जोड्दा त्यसको मूल्य झण्डै १२ हजार रुपियाँ पुगेकोे जनाएको छ। तर, सोही समयमा सोही गुुणस्तरको चुलो निजी क्षेत्रले भने बजारमा ४ देखि ५ हजार रुपियाँसम्ममा बिक्री वितरण गरिरहँदा हालसम्ममा ट्रेडिङले जम्मा एउटा मात्र बिक्री गरेको छ।

अनुदानमार्फत्को १० हजार इन्डक्सन चुलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अझै अलपत्र रूपमा रहेको छ। नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कार्यालयको गोदाममा थन्किएको अवस्थामा रहेको छ। हवाईमार्गबाट भित्रिएको उक्त चुलोको भन्सार पासका लागि आफूसँग रकम नभएको कुरा अर्थ मन्त्रालयलाई जानकारी गराएपछि अर्थ मन्त्रालयले भन्सार छुटका लागि लाग्ने रकम नेसनल ट्रेडिङलाई उपलब्ध गराएको थियो।

प्रवक्ता गुरागार्इंले अर्थ मन्त्रालयबाट रकम प्राप्त गरेपछि लागत राजस्व रकम तिरिसकेको बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘राजस्वमार्फत्को रकम हामीले भुक्तानी गरिसक्यौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि विलम्ब शुल्क र भण्डारण शुल्क मिनाहा गरिसकेको छ, अब चाँडै नै उक्त १० हजार थान चुलो टेकुस्थित ट्रेडिङको कार्यालयबाट बिक्री वितरण गरिने छ।’ प्रवक्ता गुरागाईले हाल रसुवागढी नाकाबाट भित्रिएको १३ सय थान चुलोको मात्रै मूल्य निर्धारण भएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको १० हजार थान चुलोको मूल्य निर्धारण केही समयभित्रै गरिने बताउनुभयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको पारवहन तथा गोदाम व्यवस्थापन कार्यालयको सञ्चालक समितिले चुलोको भण्डारण शुल्क र विलम्ब शुल्कका विषयमा छलफल गरेर टुग्याएपछि मात्र नेसनल ट्रेडिङले आफ्नो बिक्री वितरण डिपोहरूमा लैजाने छ।

दुई वर्षसम्म पनि बिक्री हुन नसकेको १३ सय थान इन्डक्सन चुलो बजार मूल्यमै बेच्न अर्थ मन्त्रालयले नेसनल ट्रेडिङलाई स्वीकृति दिएपछि ट्रेडिङका कायममुकायम प्रबन्धक गोपाल घिमिरेको संयोजकत्वमा बजार मूल्य विश्लेषण तथा अनुगमन अध्ययनका लागि गठन गरिएको थियो। गत फागुनमा उक्त समितिले मूल्य अभिवृद्धि कर (भ्याट) सहित ५ हजार २ सय रुपियाँमा बिक्री गर्न सकिने प्रतिवेदन बुझाएको थियो।

त्यसपछि ट्रेडिङले प्रतिवेदन अनुसार नै बजार मूल्य निर्धारण गर्दा समेत उपभोक्ताले चुलो किनेनन्। ८ वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको नेसनल ट्रेडिङले सबै कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने निर्णय गरेसँगै मौज्दात वस्तुको निकै न्यून मूल्य राखेर बिक्री वितरण गरिरहेको छ। इन्डक्सन चुलो बाहेक साविकको मूल्यअनुसार करिब १२ करोड रुपियाँ बराबरका वस्तु ट्रेडिङसंँग रहेको छ।

वि.स. २०१८ सालदेखि भित्राइएका रसियन गाडीका पार्टपूर्जा, रबर, मदिराजन्य र सूर्तीजन्यवस्तु हाल कामै नलाग्ने भएपछि टेड्रिङले वस्तुको गुणस्तर अनुसार चल्ती, बेचल्ती, नास्ने र लिलामी गरी चार वटा विषयमा वर्गिकरण गरेको छ।

यी वस्तुको मूल्यांकन गर्दा ट्रेडिङले बेचल्तीका सामानमा ७० प्रतिशत, लिलामीका सामानमा ९० प्रतिशत र बिक्री गरिने सामानमा ८० प्रतिशत मूल्य घटाएकोछ। जसअनुसार ती वस्तुको मूल्य १ करोड रुपियाँ बराबरमात्रै पर्न जान्छ। नेसनल ट्रेडिङको तथ्यांक अनुसार १ करोड ९ लाख रुपियाँ बराबरको मेसिनरी वस्तु, साढे ७ करोड रुपियाँ बराबरको सूर्तीजन्य र मदिराजन्य वस्तु, र २ करोड ६० लाख रुपियाँ बराबरको इन्डक्सन मौज्दात रहेकोछ।