पूर्वाञ्चल बाहिरियो पुलिस सेमिफाइनलमा


नेपाल समाचारपत्र,काठमाडौं

कीर्तिपुर त्रिवि मैदानमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट पूर्वाञ्चल टोली बाहिरिएको छ।

शुक्रबार भएको वर्षाले समूह ‘बी’अन्तर्गतको खेल रद्द भएपछि पूर्वाञ्चलले सुदूरपश्चिमसँग एक अंक जोडेको हो। तर तीन खेलबाट एक अंक जोड्नाले नै पूर्वाञ्चलको अन्तिम चार पुग्ने आशा समाप्त भएको थियो।

यो खेलको नतिजाले प्रत्यक्ष लाभ भयो नेपाल पुलिस क्लबलाई। पुलिस दुई खेल जित्दै सेमिफाइनलमा पुगेको छ। सुदूरपश्चिमको भने दुई खेलमा एक अंक र त्रिभुवन आर्मी क्लबको दुई अंक रहेको छ। आज यी दुई टोली भिड्दै छन्, जसमा आर्मी जितेमा अन्तिम चारमा पुग्नेछ भने सुदूर जितेमा आर्मीले अन्तिम खेलमा पुलिससँग अन्तिम चारमा पुग्न खेल्नेछ।

त्यसो त वर्षा हुनुअगाडि सुदूरपश्चिमको ब्याटिङ समाप्त भइसकेको थियो। टोलीले अलआउट हुँदै ४५ दशमलव २ ओभरमा १ सय ५३ रनको योगफल बनाएको थियो। टोलीका लागि विजय रानाले ५५ रन जोडेका थिए। उनले १ सय ८ बलको सामना गरी धैर्यतापूर्वक ब्याटिङ गरे। उनले मात्र दुई चौका प्रहार गरेका थिए। त्यस्तै सन्तोष भट्टले २२ रनको योगदान दिँदा अरूको उल्लेखनीय ब्याटिङ भएको थिएन। पूर्वाञ्चलका बलरमा कप्तान पुष्प थापा र सगर ढकालले ३÷३ विकेट हात पारेका थिए।

जवाफमा पूर्वाञ्चलको खराब शुरूआत भएको थियो। केवल चार ओभरमा २२ रनमै चार जना ब्याटसम्यान पवेलियन फर्किंदा टोली हारको निकट पुगिसकेको थियो। सुदूरका विनोद लामाले दुई विकेट लिएका थिए। यसपछि वर्षा भएको र खेल पुनः सञ्चालन नहुँदा पूर्वाञ्चल र सुदूरपश्चिमको हातमा एक–एक अंक परेको थियो।