महिला लिग आगामी सातामा


नेपाल समाचारपत्र
काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै जेठ १६ गतेदेखि २८ जिल्ला सम्मिलित एन्फा महिला लिग च्याम्पियनसिप २०७४ को आयोजना गर्न लागेको छ।

सन् २०१८ मा आयोजना हुने साफ महिला च्याम्पियनसिपलाई लक्षित गर्दै एन्फाले लिग आयोजना गर्न लागेको एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए। तुलाधरका अनुसार राष्ट्रिय टोलीको तयारीमा थप सुदृढ पार्ने उद्देश्यका साथ एन्फाले ल्याएको यस प्रतियोगिता लिग कम नकआउटमा हुनेछ।

पाल्पा र स्याङ्जामा खेलाइने प्रतियोगितामा एन्फासँग आबद्ध विभिन्न २८ जिल्लालाई कुल आठ समूहमा विभाजन गर्नेछन्। जसमा समूहको शीर्ष टोलीले मात्रै क्वार्टरफाइनलमा स्थान बनाउनेछ। जेठ २७ गते पाल्पामा हुने फाइनल खेलपछि सोही प्रतियोगितामा उत्कृष्ट भएका ३० खेलाडी छनोट गरिनेछ। यस्तै तीन विभागको दुई टिम बनाई काठमाडौंमा पहिलो पटक महिला राष्ट्रपति कप लिग खेलाउने एन्फाको योजना छ। त्यही लिगबाट छानिएका खेलाडीले राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता जनाउनेछन्।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्ड र उत्कृष्ट प्रशिक्षकले समान जनही १५÷१५ हजार प्राप्त गर्नेछन्।

अनुमानित ६३ लाख रुपियाँ बजेटको प्रतियोगिता फिफा र एएफसीबाट महिला फुटबल विकासका लागि आएको रकमबाट प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी गराए।