पोखरा महानगर एमालेको पोल्टामा


धन बस्नेत, पोखरा
पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका मानबहादुर जिसी ६० हजार १ सय १८ मतसहित विजयी बन्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गर्नुभएको छ।

महानगरको उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४ सय ४८ मतसहित विजयी बन्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत प्राप्त गर्नुभएको छ।

पहिलो चरणको निर्वाचनअन्तर्गत ४ वटा महानगरपालिकाको निर्वाचन भएकोमा पहिलो परिणाम ललितपुर महानगरपालिकाको आएको थियो भने दोस्रो परिणाम पोखराको आएको हो। ललितपुरमा कांग्रेसले मेयर पदमा विजय हासिल गरेको थियो। अब महानगरपालिकामध्ये काठमाडौं र चितवनको भरतपुर महानगरपालिकाको परिणाम आउन बाँकी रहेको छ।

पोखरा–लेखनाथ महानगरपालिकाका जिसीले निर्वाचन प्रचारप्रसारका क्रममा जनतामाझ बोलेका कुरा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पर्यटकीय नगरी पोखरा लेखनाथलाई एक उत्कृष्ट महानगरपालिका बनाउने बताउनुभयो।
आपूm यसअघि एउटा पार्टीको कार्यकर्ता भए पनि जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि अव सबै महानगरबासीको साझा व्यक्ति भएको उहाँको भनाइ थियो। ‘मतदाताको मन जित्ने गरी काम गर्छु’ –उहाँले भन्नुभयो।

महानगरपालिका–२८ मा २०१७ साल भदौ १७ गते जन्मनुभएका जिसीले बीएडसम्मको शिक्षा हासिल गर्नुभएको छ। विसं २०३७ सालमाा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीति थाल्नुभएका उहाँले २०४१ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिनुभएको थियो।

उहाँ नेकपा एमाले कालिका गाउँ कमिटीको सचिव, इलाका नं. ४ कास्कीको सचिव, २०५० सालमा निर्वाचित जिल्ला कमिटी सदस्य, २०५४ मा एमाले जिल्ला कमिटीको उपसचिव र २०५८ देखि २०६० सालसम्म जिल्ला कमिटीको सचिव तथा २०६६ देखि २०७० सम्म पार्टीको आठांै जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भई जिम्मेवारी सम्हाल्नुभएको थियो।
हाल उहाँ एमाले केन्द्रीय कमिटीको वैकल्पिक सदस्य एवम् कास्की जिल्ला इन्चार्ज र प्रदेश नंं. ४ को कार्यालय सचिव हुनुहुन्छ। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. १ बाट जिसी नेपाली कांग्रेसका उम्मेदवार यज्ञबहादुर थापासँग २ सय ७२ मतले पराजित हुनुभएको थियो।

पराजित कांग्रेसका उम्मेदवार भन्छन्, ‘हारे पनि लोकतन्त्रको जित हो’

करिब दुई दशकपछि स्थानीय तहमा पहिलो चरणको निर्वाचन सम्पन्न भई नेपालमा लोकतन्त्रको जग थप मजबुत भएको छ। पोखरा लेखनाथ महागरका मतदाताले निर्वाचनमा उत्साहका साथ जुन रूपमा भाग लिए त्यसले लोकतन्त्र अभ्यासमा आम सर्वसाधारणको ठूलो आस्था राखेको प्रमाणित भएको छ।

लोकतन्त्रको मेरुदण्ड भनेकै आवधिक निर्वाचन हो। निर्वाचनमा उम्मेदवारको हार र जितभन्दा अहिलेको जटिल समयमा निर्वाचन सफल रूपमा सम्पन्न हुनु लोकतन्त्रको जित हो। स्वस्थ तरिकाले भएको निर्वाचनमा लोकतन्त्रको पहरेदार पार्टी नेपाली कांग्रेसलाई मत दिने आदरणीय मतदाता, निर्वाचनमा भाग लिने अन्य मतदाता, अन्य राजनीतिक दल, सम्पूर्ण उम्मेदवारहरू, निर्वाचन गराउन खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, चुनावी वातावरणलाई मलजल गर्ने सञ्चारकर्मीलगायत धन्यवादका भागिदार हुनुहुन्छ।

निर्वाचनमा आआफ्नो ठाउँबाट योगदान गरेर लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन उहाँहरूले निर्वाह गरेको भूमिका अतुलनीय छ। संविधानको सर्वस्वीकार्यतासहितको कार्यान्वयन एवं नेपालको राजनीतिलाई स्थिरताको बाटोमा लैजान महत्वपूर्ण कोसेढुंगा सावित भएको छ यो निर्वाचन र निर्वाचनको अभ्यास।

लोकतन्त्रमा जित र हार भन्ने कुरा स्वाभाविक छ। यो चुनावमा नेपाली कांग्रेसको तर्फबाट मेयर र उपमेयरको उम्मेदवारमा पराजय व्यहोर्नुपरे पनि हामीलगायत नेपाली कांग्रेसलाई मत दिने सबै मतदातालाई धन्यवाद दिन चाहन्छौं। मेयर र उमपेयरमा पराजय व्यहोर्नुपरे पनि पोखरा लेखनाथ महानगरको समग्र विकास र समृद्धिका लागि लोकतन्त्रको पहरेदारी, लोकतन्त्रलाई थप मजबुद बनाउनका लागि हामी सधैं कटिबद्ध भएर लाग्ने प्रण गर्दछौं।

पराजयपछि हाम्रो सक्रियता घट्ने होइन, अझ बढ्ने विश्वास दिलाउन चाहन्छौं। साथै पोखरा लेखनाथ महानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यमा निर्वाचित सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछौं।