वीरगन्ज, १२ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनप्रति पर्सा जिल्लाका जनता उत्साहित छन् ।
वीरगन्ज महानगरपालिका घोषणा भएपछि राजनीतिक दल आ–आफ्ना उम्मेदवारलाई स्थानीय तहको चुनावमा उम्मेदबार बनाउने कसरत गरिरहेका छन् भने कुन दलबाट को–को उम्मेदवार हुने पार्टीभित्र चर्चा परिचर्चासमेत हुन थालेको छ ।
संविधान संशोधनगरी आ –आफ्नो माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने अडान राखेका मधेसवादी दलका नेता तथा कार्यकर्ता पनि चुनावबारे जोड घटाउमा लागेका छन् ।
जनमानसमा चासोको विषय बनेको वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट अजय द्विवेदी, ओमप्रकाश शर्मा, दिना गुप्ता, विजय सर्राफको नाम चर्चामा छ भने नेकपा एमालेको तर्फबाट सुन्दरप्रसाद कुर्मी, निर्मला देवकोटा, चिरन्जीवी आचार्य, पिताम्बर शर्माको नाम चर्चामा छ ।
नेकपा (माओवादी केन्द्र)बाट हालसम्म कसैको नाम चर्चामा आएको छैन । राप्रपाबाट प्रदीप सुवेदी, राजपाबाट पूर्व प्रमुख विमल श्रीवास्तवको नाम चर्चामा छ ।
प्रदेश नं–२ को आर्थिक नगरी वीरगन्जमा दोस्रोचरणको स्थानीय तहको निर्वाचनको लागि दलहरु आन्तरिक गृहकार्यमा लागेका छन् ।, पर्सा जिल्लामा एक महानगरपालिका, एक नगरपालिका र १२ गाउँपालिका छ । यति बेला पर्सामा राजनीतिक दल मात्र नभएर स्थानीय नागरिक अगुवादेखि उद्यमी व्यवसायीसम्म स्थानीय निर्वाचनका लागि एजेन्डामा बहस गर्न थालेका छन् ।
जिल्लामा रहेको फोहर व्यवस्थापन, सडक विस्तार एकिकृत सहरी व्यवस्थापन वीरगन्ज नगरलाई हरितनगर बनाउने जस्ता एजेन्डा राजनीतिक दलहरुले उठाउँदै आएका छन् । रासस
प्रतिक्रिया