‘ऐलानी’मा कार्यविधि मौन


दलितलाई २०५० घर बन्दै
नेपाल समाचारपत्र, बाँके । ऐलानी जग्गामा बसेकालाई पनि जनता आवास कार्यक्रमले समेटेको छ ।
यसअघि कार्यक्रमले लालपूर्जाधारीलाई मात्रै समेटेको थियो । ‘वर्षौदेखि बसेको भन्ने स्थानीय निकायबाट सिफारिस लिएर आएका र ऊ बसेको जमिन कुनै संघ, संस्थान र जंगलाद नभएको हुनुपर्ने’ नयाँ कार्यविधिमा समेटिएको छ । कार्यविधि ऐलानी जग्गामा बसेकाका विषयमा मौन देखिएको छ ।

दलित समुदायलाई घर बनाइदिने सरकारी यो कार्यक्रममा पर्नका लागि लालपूर्जा नै चाहिने कार्यविधिको बहुसंख्यकले विरोध गर्दै आएका थिए । खोला÷नाला किनारमा वर्षौदेखि बसेका राजी, गन्धर्व, बादी समुदायहरु जग्गा नहुँदा जनता आवास कार्यक्रमबाट छुट्दै आएका थिए । यद्यपि, जनता आवास कार्यक्रम भने उनीहरुका लागि आएको थियो ।
यसपाली कुनै जाती विशेष नभएर दलित समुदायका लागि कार्यक्रम आएको छ । बादी, गन्धर्व र राजी समुदायलाई भने विशेष प्राथमिकतामा राखिएको छ । बर्दियामा राजी, गन्धर्व र बादी तथा बाँकेमा बादी र गन्धर्व प्राथमिकतामा रहेका छन् । अहिले छनौट परेकामा बर्दियामा बादी, गन्धर्व राजी समुदायबाट २ सय ८५ तथा बाँकेमा बादी र गन्धर्व जातीका ७० जना रहेका छन् । ‘बादी, गन्धर्व र राजी समुदाय नै तोकेर आउथ्यो, अहिले दलित भनिएको छ, अधिकारीहरु भन्छन्, यी जातीहरु भने विशेष प्राथमिकतामा रहेका छन् ।’
नयाँ कार्यविधि अनुसार सबै दलित समेटिएका छन् । तराईन, पहाडी दलितहरु समेटिएको कार्यक्रममा धेरै भने हालीमुहाली गरेरै जातीका परेका छन् । कार्यक्रममा भने अति गरिव, परिवार संख्यालगायतलाई मापदण्ड बनाइएको छ । शुरुवाती चरणमा घरका लागि हुनेखाने दलितले पनि निवेदन हालेका थिए ।
बाँकेमा एक हजार २० र बर्दियमा एक हजार ३० घर बन्दैछन् । शहरी विकास तथा भवन डिभिजन कार्यालय, नेपालगञ्जका इन्जिनियर होमनाथ भूसालका अनुसार, जनता आवास कार्यक्रमअन्तर्गत बाँके र बर्दियामा दुई हजार ५० घर बनाउनका लागि १३ करोड रुपैया आएको छ । भवन डिभिजन कार्यालयले कोटा अनुसारका व्यक्तिहरु छनौट गरिसकेको छ । बर्दियामा पहिलो किस्ताको रकम लिनका लागि रकम माग्न शुरु गरिसकेका छन् ।

घरको खाल्डो खनेपछि २५, डिपीसी गरेपछि ३०, गारो उठाएपछि ३५ र छाएपछि बचेको १० प्रतिशत रकम दिने बताइएको छ । डेढ महिनामा आएको रकम जनताकहाँ पु¥याउन नसके फ्रिज हुने डर रहेको छ । इन्जिनियर भूसालले भने बर्दिया आधाजतिले दोस्रो किस्ता लैजाने, बाँके र बर्दियाका सबैले पहिलो किस्ता लगेमा रकम फ्रिज नहुने बताउनुभयो ।
छनौट भएकाले प्रतिव्यक्ति दुई लाख १५ हजार २ सय रुपैया पाउँछन् । यो रकममा आफूले थपेर राम्रो घर बनाउन सक्छन् । यसअघि धेरैले यस्तै गरेका थिए । जनता आवास कार्यक्रमबाट गरिव दलितहरु लाभान्वित भएका छन् ।