दलहरु भोग्न माग्दै गाँउमा, मतदाता यार्सा टिप्न बुकितिर

0
Shares

धनवीर दाहाल, रुकुम ।

दोस्रो चरणको स्थानीय तह निबार्चनको मिति सरकारले जेठ ३१ गतेका लागी तोकेको छ । दलहरु आ आफ्ना घोषणा पत्र बोकेर गाँउ पसेका छन् ।
तर रुकुमका केही गाँउमा भने दलका स्थानीय नेता कार्यकर्ता समेत छैनन् । उनीहरु बुधबारबाट यार्साको सिजन सुरु भएपछि यार्सा टिप्न बुकीलेक तिर पसेका छन् । यार्सासिजन सुरु भएपछि रुकुमका पुर्वी उत्तरी भेगका बिद्यालयहरु समेत बन्द भएका छन् ।

रुकुमको उत्तर भेगमा पाइने यार्सागुम्वाको सिजन सुरु हुन थालेपछि स्थानियहरु सबै काम छोेडेर बुकी लेकतिर लागेका हुन् । यार्सा सिजन व्यवस्थापन समितीले स्थानियहरुलाई प्रबेश पत्र टोलटोलमा गएर बितरण गरेकोे छ । यस्तै बाह्य जिल्लाका सर्वसाधारणलाई प्रबेश पत्र तथा व्यापारीलाई परिचय पत्र वेश क्याम्पमै गएर बितरण गर्ने जानकारी दिएको छ ।


यार्सागुम्वा टिप्नका लागी सर्बसाधारणलाई सजिलो बनाउन नियमहरु बनाइएको छ । स्थानियहरु र बाह्य जिल्लाका सर्वसाधारण तथा व्यापारीहरु बुकी लेक तिर लागेका छन् । यस बर्ष यार्सा सिजन व्यवस्थापन समितीले आफ्नो परिचय खुल्ले परिचय पत्र, नागरिकता तथा बिद्यार्थी परिचय पत्र लगाएत मध्य कुनै एकको प्रतिलिपी समेत उपलब्ध गराउन अनुरोध गरेको छ । घरेलु हातहतियार, भरुवा बन्दुक लगाएतका सामाग्रीमा रोक लगाएको छ । बिगतका बर्षहरुमा भएका घटनालाई मध्यनजर गर्दै यस बर्ष व्यवस्थापन समितीले कडा नियम बनाएको हो ।
स्थानीय भाषामा जीबनबुटीको नामले चिनिने यार्सागुम्बा पछिल्लो समय रुकुमेली जनताहरुको जीबन धाँन्ने बुटी नै बनेको छ । रुकुमको पुथाउत्तरगंगा गाँउपालिका र भुमे गाँउपालिकाका स्थानीयहरु बढी मात्रामा यार्सा टिप्न गएका छन् ।

पुथा उत्तरगंगा गाँउपालिकाको रन्मामैकोट लगाएतका उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा टिप्नको लागि बुधबारबाट खुल्ला गरिएकोे छ । डोल्पाको सिजन भन्दा चाँडो गरि रुकुमको पुथाउत्तरगंगाको मैकोट र आठविसकोट नगरपालिकाको स्यालाखदीको यार्सा टिप्नको लागि खुल्ला गरिन्छ ।

रुकुमको यार्सा खोजेर मानिसहरु डोल्पा तिर खोज्न जाने ब्यवस्था गरिदै आएको छ । मजदुरीको लागि भारत गएर बर्षभरी दुःख गरेर ज्यान पाल्न धौ धौ भए पनि दुई महिना यार्सा टिप्दा धेरै सजिलो हुने भएपछि मजदुरीको पहिलो रोजाइ यार्सा टिप्न जानु नै बनेको छ । छोटो समयमै बढि आम्दानी हुने भएकाले मानिसहरुको आर्कषण यार्सा टिप्नुमा नै बढि देखिन्छ ।

प्रतिव्यक्तिी एक हजार पाँच सय कर तिर्नुपर्ने नियम यार्सा व्यवस्थापन समितीले बनाएको छ । सो क्षेत्रका स्थानीय बासिन्दाले प्रतिव्यक्ति ५० हजारदेखी ५ लाख सम्म आम्दानी गर्ने गर्दछन् । जिल्ला वन कार्यालयबाट पुर्जी काटेर बुकी गएका स्थानीयहरु सोही ठाँउमा नै यार्सा बिक्री गर्ने गर्दछन् । एक किलो यार्सा संकलन गर्ने व्यापारीले जिल्ला वन कार्यालयमा २५ हजार राजश्व तिर्नपर्ने हुन्छ भने यार्सा व्यवस्थापन समितीलाई पनि छुट्टै रकम तिर्नुपर्दछ ।

यार्सालाई प्रतिगोटा पाँच सयदेखि एक हजारको दरले विक्री गरेको स्थानियको अनुभव छ । यस बर्ष पनि ७ सय देखी १४ सय सम्म पर्ने अनुमान गरिएको छ । यस्तै प्रत्येक वर्ष गाउँका युवाहरु समेत खर्च ब्यहोरेर रुकुम र डोल्पाका विभिन्न पाटनमा जान्छन् । स्थानीयवाट खरिद गरेर देशका विभिन्न ठाउँवाट आएका ब्यपारीलाई विक्री गर्दा मात्रै धेरै आम्दानी हुने गरेको व्यापारीहरुको भनाई छ । यार्सागुम्वा थोरै लगानीमा धेरै आम्दानी हुने भए पनि गरिव र विपन्न परिवारको लागि राम्रो आन्दानीको स्रोत बनेको छ ।

पूर्वी रुकुमको पुथाउत्तरगंगा गाँउपालिकाको मैकोट, पुपाल हिमाल, पुथा, सिस्ने हिमाल, आठबिसकोट नगरपालिकाको गोतामकोट, स्यालाखदी र डोल्पाका पाटनमा यार्सा संकलन हुने गरेको छ । यार्सागुम्बावाट विद्यार्थीहरुले समेत फाइदा लिने गरेका छन् ।

पूर्वी रुकुका अधिकांश विद्यालयका शिक्षक र विद्यार्थीहरु पठनपाठन छोडेर यार्सा टिप्न पाटन जानेर गरेका छन् । कमै आन्दानी गर्ने विद्यार्थीले समेत एक लाख भन्दा बढि आन्दानी हुने भएकोले विद्यार्थीहरु पाटन जाने गरेका हुन । रुकुमका पुर्वी भेगका गाँउहरु प्रत्येक बैशाख जेठ महिनामा सुनसान हुने गर्छन् ।
स्थानीयवासीहरु यार्सागुम्वाको एकै सिजनमा लाखौँ रुपैँयाको आम्दानी हुनेभएकाले वर्षभरी घरखेतवारीको काम गर्ने र एक वर्षको एक सिजनको दुई हप्तामै प्रतिघर वराबर पाँच देखि ६ लाखसम्म आम्दानी गर्ने भएकाले बालबालिका देखी बृद्धबृद्धा तथा बिद्यार्थी देखी शिक्षक सम्म यार्सागुम्वा टिप्न गाँउ नै छोडर लेकतिर जाने गर्छन ।