भद्रपुर, १० जेठ । झापामा पहिलो पटक सौर्य ऊर्जा प्रविधि प्रयोग गरी पथरियाका किसान खेतमा सिँचाइ गर्न थालेका छन् ।
वर्षात्को पानी तथा बोरिङमा निर्भर किसानको खेतमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले सौर्य ऊर्जा प्रविधि प्रयोग गरेर बोरिङबाट पानी निकालेको छ । रु १५ लाखको लागतमा डिभिजन कार्यालयले सिँचाइको व्यवस्था गरेको डिभिजन प्रमुख ईश्वरीप्रसाद तिवारीले बताउनुभयो ।
सौर्य ऊर्जा प्रयोग गरी बोरिङबाट पानी निकाल्न १४० वाटको २४ वटा प्यानल जडान गरेको छ । एक हर्ष पावरको पम्प जडान गरी बनाएको सौर्य ऊर्जा सिँचाइको सिँचाइ विभागका उपनिर्देशक वासुदेव लोहनीले आज उद्घाटन गर्नुभयो । बोरिङबाट प्रतिसेकेन्ड तीनदेखि पाँच लिटर अर्थात् एक दिनमा ५० घनमिटर पानी आउने र यसबाट लगभग २५ बिगाहा खेत सजिलै सिँचाइ गर्न सकिने तिवारीले बताउनुभयो । रासस
प्रतिक्रिया