आर्मीले नौ विकेटले जित्यो

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले ठूलो जित हात पारेको छ।

प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो दिन आर्मीले क्षेत्रीय टोली पूर्वाञ्चललाई ९ विकेटले माथ खुवाएको हो। विभागीय टोलीको जितमा सागर पुन र अनिल मण्डलले सानदार खेल पस्केका थिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पूर्वाञ्चललले मात्र १ सय ४ रनको लक्ष्य दिएको थियो। ५० ओभरको खेलमा आर्मीले एक विकेट गुमाएर १८ ओभरमै लक्ष्य हासिल गर्दै जित प्राप्त गर्यो। जितपछि समूह ‘बी’मा रहेको आर्मीले २ अंक जोड्यो भने अलराउन्ड प्रदर्शन गरेका पुनले म्यान अफ दि म्याचको ५ हजार नगद पुस्कार पनि प्राप्त गरे।

ओपनर महेश क्षेत्री पहिलो ओभरमै विना खाता खोली आउट भएका थिए। उनी मेहबुब आलमको बलमा एलबीडब्ल्यूका सिकार भएका थिए। यसपछि थप विकेट पतन हुन नदिएर अनिल र सागरले अटुट १ सय ६ रनको साझेदारी गरेका थिए। मण्डलले ६३ बलमा ८ चौकासहित ५६ रन बनाउँदा पुनले ४० रन जोडेका थिए। उनले ४८ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पूर्वाञ्चलले ३२ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनको सामान्य योगफल बनाएको थियो। टोलीका लागि मेहबुब आलमले सर्वाधिक ३६ रन योगदान दिए। ४२ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै विधान गोस्वामीले १९ तथा अंकित सुवेदीले १२ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। पूर्वाञ्चललाई सस्तैमा समेट्ने क्रममा आर्मीका सागर पुनले ९ ओभरमा दुई मेडनसहित १६ रन खर्चेर ५ विकेट लिए।

यस्तै सुसन भारीले ३ तथा सोमपाल कामीले २ विकेट हासिल गरेका थिए। प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ। समूह ‘ए’मा नेपाल एपीएफ क्लब, मध्यमाञ्चल विकास श्रेत्र, मध्यपश्चिमाञ्चल विकास क्षेत्र र पश्चिमाञ्चल विकास क्षेत्र रहेका छन्। यस्तै समूह ‘बी’मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल विकास क्षेत्र र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र रहेका छन्।

प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपियाँ पुरस्कार पाउनेछन्। त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपियाँ पुरस्कार पाउनेछन्। यस्तै प्रतियोगिताको म्यान अफ दि सिरिजले एक लाख रुपियाँ र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपियाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताअन्तर्गत बुधबार समूह ‘बी’कै नेपाल पुलिस र सुदूरपश्चिमाञ्चलबीच खेल हुनेछ।