हेटौंडामा पत्रकार र कलाकार सम्मानित

0
Shares

हेटौंडा, (नेस)। चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकारलाई सम्मान प्रदान गर्दै चलचित्र पत्रकारिता दिवस मनाएको छ। यस अवसरमा आइतबार हेटौंडमा सम्पन्न कार्यक्रममा पत्रकार शान्तिप्रियलाई पहिलो वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७४ बाट सम्मानित गरेको छ।

उनलाई नगद ११ हजार १ सय ११ रुपियाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। त्यसै गरी यस वर्ष चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार कपिल खड्का र कलाकारिता सम्मानबाट हेटौंडाका कलाकार भोलाराज सापकोटालाई सम्मान गरिएको छ। खड्का र सापकोटालाई नगद ५ हजार रुपियाँसहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको छ। उनीहरुलाई चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन र नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयलगायतले सम्मानित र पुरस्कृत गरेका थिए।

पुरस्कृत कलाकार सापकोटा हिन्दी फिल्म बर्फीबाट समेत चर्चामा आएका छन्। उनले अभिनय गरेको फिल्म कुम्भकरण प्रदर्शनको तयारीमा छ। उनी अभिनित आधा दर्जन फिल्म प्रदर्शनमा आइसकेका छन्। ओस्कारमा भारतको प्रतिनिधित्व गर्दै पुगेको बर्फीमा भोलाको अभिनयलाई दर्शकले रुचाएका छन्। भोलाराजले ७ कक्षामै हुँदा साथीसँग मिलेर नवजीवनज्योति क्लब नै बनाएर नाटक गर्न थालेका थिए। २०५० सालमा भविष्य खोज्दै राजधानी छिरेका उनले गुरुकुलका डेढ दर्जन नाटकमा उम्दा अभिनय गरेका छन्। भोलाको अभिनयको मर्डर, मेट्रो इन लाइफ, काइट्सजस्ता फिल्म बनाउने निर्देशक अनुराग वासुसमेतले प्रशंसा गरेका छन्।