युवा परिषद्का उपाध्यक्षबाट पुनः स्पष्टीकरण


काठमाडौँ, ८ जेठ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले आफूले ‘कठिन स्थितिमा पनि युवाको हितमा काम गरिरहेको अवस्थामा अपमानित हुने गरी सरकारले स्पष्टीकरण सोधेको’ गुनासो गर्नुभएको छ ।

परिषद्को कार्यालयमा आज पत्रकार सम्मेलन गरी उपाध्यक्ष ढुङ्गेलले अहोरात्र खटेर युवा तथा खेलकुद मन्त्रालयको फाइलमा सीमित संस्थालाई सरकार एवं युवासम्बन्धी सङ्घ सङगठन र विभिन्न राजनीतिक दलले गर्व गर्नलायक देशव्यापी सञ्जाल भएको संस्था बनाएको अवस्थामा आफूलाई स्पष्टीकरण सोधिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई अत्यन्त अपमानित ढङ्गबाट स्पष्टीकरण सोधी काममा अवरोध उत्पन्न गर्ने काम कार्य आफैँमा दुर्भाग्यपूर्ण छ र यसले मलाई आश्चर्यचकित बनाएको छ ।” उहाँले सरकारलाई सोही व्यहोराको जवाफ दिइसक्नुभएको छ ।

सरकारले ढुङ्गेललाई ‘राष्ट्रिय युवा परिषदका उपाध्यक्षको पदअनुरुपको आचरण नगरेको र पदीय जिम्मेवारी पूरा नगरेकाले परिषद् ऐन, २०७२ को दफा १५ को उपदफा (२) बमोजिम स्पष्टीकरण’ सोधेको थियो । ढुङ्गेल सो पदमा २०७२ फागुन १९ गते नियुक्त हुनुभएको थियो । रासस