मेसिन किन्दै, मकै रोप्दै

0
Shares

नरेन्द्र केसी, दाङ

शान्तिनगर गाउँपालिका–२ सिमसुन्दरपुरका भरत खड्का यो वर्षदेखि नयाँ अभ्यासमा जुट्नुभएको छ। यो वर्ष उहाँले मेसिनबाट मकै रोप्नुभएको छ। पछिल्लो समयमा दाङको कृषि क्षेत्रमा बढ्दै गएको कृषि प्रविधिको प्रयोगसँगै खड्का पनि प्रविधि प्रयोगमा हौसिनु भएको हो।

उहाँले दीप कृषि सहाकारी संस्थामार्फत् सिडड्रिल मेसिन किनेर मकै रोप्नुभएको हो।‘यसअघि यो गाउँमा छिटपुट रूपमा मेसिनबाट मकै रोप्न थालिएको थियो।’ उहाँले भन्नुभयो–‘यसपटक आफैंले मेसिन किनेर मकै रोपेका छौं, उत्पादन कस्तो हुन्छ हेर्न बाँकी छ।’

त्यसो त पातेटाकुराका इन्द्रलाल पौडेलले पनि यसपटक मेसिन खरिद गरेर मकै रोप्नुभएको छ। बयाले कृषि सहाकारी संस्थामार्फत् उहाँले मेसिन खरिद गरी मकै रोप्नुभएको हो। मेसिनबाट लागत घट्ने र उत्पादन बढ्ने भएकाले आफूहरू यसतर्फ आकर्षित भएको पौडेलको भनाइ छ।

दाङको पश्चिम क्षेत्रमामात्रै करिब ८० किसान मकै, भटमास र मुङसमेत छर्न मिल्ने ज्याब पलान्टर खरिद गरेर प्रयोग गर्न थालेका छन्। सहकारीमार्फत् मेसिन खरिद गरेर उनीहरूले सहकारी सदस्य तथा अन्य किसानलाई सेवा दिंँदै आएका छन्। मेसिन प्रयोगले कृषिमा आधुनिकीकरण हुने र आधुनिकीकरणसँगै कृषि क्षेत्रमा आकर्षण बढ्ने किसानको विश्वास छ। त्यसो त मेसिन प्रयोग गर्दा उनीमा सामूहिक भावनाको पनि विकास भइरहेको छ। ‘एक्लै खेतीपाती गर्ने किसान अब मेसिनमार्फत् सामूहिकीकरणमा जोडिएका छन्।’ पौडेलले भन्नुभयो– ‘यसले सामूहिक भावनाको विकास गर्न पनि सहयोग पुग्ने छ।’

पछिल्लो समय दाङको कृषिमा प्रविधि प्रयोग बढ्न थालेको छ। दुई वर्षअघिदेखि अन्तर्राष्ट्रिय मकै तथा गहँु बाली सुधार केन्द्र (सिमिट) को सिसा परियोजनाले दाङमा मकैको उत्पादनको लागि विभिन्न अनुसन्धान, परीक्षण तथा प्रसारका क्रियाकलाप थालेपछि किसानले प्रविधिको बारेमा जानकारी पाउन थालेका हुन्। त्यसमा यो वर्षदेखि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरू गरेपछि यो कार्यक्रमले प्रविधि प्रयोगमा थप प्रोत्साहन गरेको छ।

कृषि सहकारीलाई लक्षित गरेर सिसा परियोजनाले मकैको अधिकतम उत्पादनको विभिन्न विषयहरू जस्तै एकीकृत मलखाद तथा रोगकिरा व्यवस्थापन, वैज्ञानिक बाली व्यवस्थापन, सिँचाइ तथा कृषि यन्त्रिकिकरणको बारेमा तालिम सञ्चालन, सचेतनामूलक कार्यक्रम सञ्चालन, प्रर्दशन तथा प्रयोग गराउँदै आएको छ। ‘दाङ मकै बाली उत्पादन हुने महत्त्वपूर्ण क्षेत्र हो।’

परियोजनाका क्षेत्रीय संयोजक हिमालय सुवेदीले भन्नुभयो–‘यसमा प्रविधि प्रयोग गर्दा लागत घट्ने र उत्पादन बढ्ने निश्चित छ।’ माटो, हावापानी र भौगोलिक दृष्टिकोणको हिसाबले दाङ मकै उत्पादनको लागि उपयुक्त रहेको उहाँले बताउनुभयो। ‘जिल्लाको पश्चिमी र दक्षिणी भागमा वर्षे, हिउँदे र बसन्ते गरी तीन मौसममा मकै उत्पादन गर्ने गरिएको सुवेदीले जानकारी दिनुभयो।