क्लेकोर्ट किंग नाडाल पराजित


मेड्रिड, (एजेन्सी)
मोन्टे कार्लो, बार्सिलोना र मेड्रिड ओपन जितेर क्ले कोर्टमा सानदार प्रदर्शन गरिरहेका राफाल नाडाल रोममा जारी इटालियन ओपनबाट बाहिरिएका छन्।

लगातार १७ खेल जितेर यस वर्ष क्ले कोर्टमा धाक जमाएका नाडाललाई अस्ट्रियाका डोमिनीक थिमले हराएका हुन्। इटालियन ओपनमा सात पटक च्याम्पियन बनेका नाडाल क्वाटरफाइनल खेलमा थिमसँग ६–४, ६–३ ले हारेका थिए। यसअघि स्पेनी खेलाडीले थिमलाई बार्सिलोना ओपन र मेड्रिड ओपनको फाइनलमा हराएका थिए।

तर शुक्रबार भएको खेलमा भने सातौं वरियताका थिमले नाडालमाथि पुरै दवाव पारेका थिए। उनले सेमिफाइनलमा विश्व नम्बर दुई नोभाक जोकोभिचसँग खेल्ने पक्का पनि गरे। सर्बियाका जोकोभिचले क्वाटरफाइनल खेलमा अर्जेन्टिनाका हुआन मार्टिन डेल पोट्रोलाई ६–१, ६–४ ले हराएका थिए।

यसैगरी अर्को सेमिफाइनल खेलमा अमेरिकाका जोन इस्नरले जर्मनीका एलेक्सान्डर जभेरेभसँग सामना गर्नेछन्। इस्नरले क्रोएसियाका मारिन चीलीचलाई ७–६, २–६, ७–६ ले हराएका थिए। जभेरेभले क्यानडाका मिलोस राओनीकलाई ७–६, ६–१ ले पन्छाएका थिए।

मुगुरुजाले हराइन भेनसलाई
डिफेन्डिङ फ्रेन्च ओपन च्याम्पियन गार्बिन मुगुरुजाले अमेरिकाकी भेनस विलियम्सलाई ६–२, ३–६, ६–२ ले हराएर इटालियन ओपनको सेमिफाइनलमा पुगिन्। स्पेनी मुगुरुजाले युक्रेनकी इलीना स्विटोलीनासँग खेल्नेछिन्।

इलीनाले चेक रिपब्लिककी कारोलिना पिलीस्कोभालाई सोझो सेटमा हराएकी थिइन्। त्यस्तै रोमानीयाकी सिमोना हालेपले लगातार तेस्रो पटक क्लेकोर्ट प्रतियोगिताको अन्तिम चारमा स्थान बनाइन्। इस्टोनीयाकी एनेट कोन्टाभीटलाई हराएकी हालेपले डचवोमेन किकी बर्टेन्ससँग खेल्नेछिन्।