ध्रुवलाई नेसक्याफे गल्फ उपाधि


काठमाडौं, (नेस)
धु्रव थापाले नेसक्याफे गोल्ड ओपन गल्फ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि गोकर्ण गल्फ क्लबमा शनिबार जितेका छन्। धु्रवले ८ ह्यान्डीक्यापसँगै ४० स्टेबलफोर्ड स्कोर गरेर जित हात पारेका हुन्। त्यस्तै सोनम घले र प्रकाश गुरुङ ३९ स्कोर गर्दै बराबरीमा रहेका थिए।

सोनमले काउन्ट ब्याकमा २० स्कोर गरेको आधारमा दोस्रो स्थान हासिल गरे। जबकी प्रकाशले ब्याकमा १९ अंक जोडेका थिए।
यसैगरी टाशी छिरिङले ३५ ग्रस अंकसहित सर्वाधिक ग्रसको उपाधि जिते। उनले पाँच बर्डी खेलेर सर्वाधिक बर्डीजमा पनि उत्कृष्ट बन्न सफल भएका थिए। रेखा घिमिरेले ३३ अंकसहित महिलातर्फको उपाधि जितिन्। प्रतिमा शेर्पा २७ अंकसहित दोस्रो स्थानमा रहेकी थिइन्।

त्यस्तै मेजर जनरल दामनबहादुर घले सिनियरतर्फको उपाधि मन्गोलियाका कन्सल जनरल टीजी श्रेष्ठलाई हराएर उपाधि जिते। यसैगरी तनुश सन्घाईले ३४ स्कोर गर्दै जुनियरतर्फको उपाधि जित्दा देवंश अग्रवाल एक अंकले दोस्रो भएका थिए। विजय श्रेष्ठ इन्हासले लंगेस्ट ड्राइभ तथा गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहरिद घिमिरले क्लोजेस्ट टु द पिनको अवार्ड पाए।
प्रतियोगितामा ९९ खेलाडीले सहभागिता जनाएका थिए। नेस्क्याफे गोल्डका बजार प्रबन्धक भरिन्द्र सेवकलगायतले प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका थिए।