एमालेलाई नफापेको वडा नम्बर २


चिरञ्जीवी मास्के, दोलखा । दोलखाको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेलाई एउटा संयोग परेको छ । वडा नम्बर २ मा हारको संयोग ।
दोलखाको दुई नगरपालिका र सात गाँउपालिका मध्य मत परिणाम घोषणा भएको दुई नगरपालिका र छ गाँउपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा एमाले उम्मेदवार पराजित भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ मा एमालेका वडा अध्यक्षका उम्मेदवार लेखनाथ श्रेष्ठलाई नेपाली कांग्रेसका विराज श्रेष्ठले पराजित गरेका छन् भने जिरी नगरपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार सानु शेर्पालाई माओवादी केन्द्रका ङिमापल्दे शेर्पाले पराजित गरेका छन् ।
गाँउपालिकाहरुमा पनि वडा नम्बर २ मा एमालेका उम्मेदवार पराजित भएका छन् । विगु गाँउपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार भक्तबहादुर केसीलाई माओवादी केन्द्रका कृष्ण ठकुरीले पराजित गरेका छन् । त्यसैगरी कालिञ्चोक गाँउपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार जितबहादुर तमाङलाई माओवादी केन्द्रका नानी पाण्डेले पराजित गरेका छन् भने शैलुङ गाँउपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार अर्जुन कुमार तमाङलाई नेपाली कांग्रेसका उम्मेदवार शुक्रध्वज तमाङले पराजित गरेका छन् ।
त्यसैगरी दोलखाको तामाकोसी गाँउपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार नरबहादुर कार्कीलाई नेपाली कांग्रेसका हर्कबहादुर योञ्जनले पराजित गरेका छन् । बैतेश्वर गाँउपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार महेश पाख्रिन श्यामकुमार तमाङसंग पराजित भएका छन् भने गौरीशङ्कर गाँउपालिका वडा नम्बर २ का एमाले उम्मेदवार गणेशबहादुर कार्की माओवादी केन्द्रका वसन्त कार्कीसंग पराजित भएका छन् ।
एउटा वडामा नेपाली कांग्रेसले बुथ फालेपछि प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएकोले बैशाख ३१ गते रोकिएको मेलुङ गाँउपालिकाको उक्त वडामा आईतवार पुनः मतदान भएकोले उक्त गाँउपालिको वडा नम्बर २ कस्ले जित्छ भन्ने बारेभने अहिले अनुमान लगाउनुमात्र सकिन्छ । मेलुङ गाँउपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार जितबहादुर भण्डारी र नेपाली कांग्रेसका यमबिक्रम कार्की बीच प्रतिस्प्रर्धा हुने स्थानिय मतदाताहरुको भनाई छ । मेलुङ गाँउपालिकाको उक्त वडा एमाले नेता एवं पूर्व जिविस उपसभापति शिवप्रसाद भण्डारीको गाँउ हो । मेलुङ गाँउपालिकाको वडा नम्बर २ मा भने एमाले पराजित नहुने स्थानिय एमाले कार्यकर्ता बताउछन् ।
दोलखामा एमालेको अर्को संयोग समेत परेको छ । नेपाली कांग्रेसले बिभिन्न वडामा बुथ कब्जा गरेको तामाकोसी गाँउपालिकामा एमालेले अपत्यारीलो जित हात पारेको छ । एमाले अध्यक्ष इश्वरचन्द्र पोखरेलले अध्यक्षमा प्रतिस्प्रर्धा गरेको उक्त गाँउपालिकाको वडा नम्बर ३ जफेमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भनिएपनि एमाले अध्यक्ष इश्वरचन्द्र पोखरेलले राम्रो मत पाएको देखियो । उक्त वडा पोखरेलको घर भएको वडा हो । बुथ कब्जा गर्ने कांग्रेस कार्यकर्ताले नै वडा अध्यक्षमा रुख र गाँउपालिका अध्यक्षमा सूर्य चिन्ह्रमा छाप लगाएको चर्चा चल्ने गरेको छ । तामाकोसी गाँउपालिकामा एमालेका प्रमुखका उम्मेदवार इश्वरचन्द्र पोखरेलले ४६१५ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसको भवेन्द्र कार्कीले ३८२० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि एमालेको उम्मेदवार उर्मिला खड्का विजयी भएकी छन् । खड्काले ४४२९ मत प्राप्त गरेकी थिईन भने प्रतिद्वन्द्वी माओवादी केन्द्रको रामचन्द्र पोखरेलले ३२७० मत प्राप्त गरेका छन् । तामाकोसी गाँउपालिकाको ७ वटा वडामा एमाले ४ वटा वडा र नेपाली कांग्रेस ३ वटा वडामा विजयी भएको छ ।