एक्टिङ कम्पिटिसनमा अनु विजयी


अभिनय प्रतियोगिता नेशनल एक्टिङ कम्पिटिसन गुल्मीकी अनु थापाले जितेकी छन्। २४ वर्षीया थापाले देशभरबाट सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुमेकी हुन्। विजेता थापाले २ लाख पचास हजारबराबरको विभिन्न उपहारका साथमा फिल्म तथा विज्ञापनमा अभिनय गर्ने अवसर पाउने जनाइएको छ।

प्रतियोगितामा धनुषाका निश्चल कार्की दोस्रो र पाँचथरका उज्वल अधिकारी तेस्रो भए। तिनै प्रतियोगी उत्कृष्ट २५, १५ र ६ हुँदै विजेता बनेका थिए। अभिनयका माध्यमबाट उत्कृष्ट प्रतिभा छान्ने यो देशकै पहिलो रियालिटी सो भएको दाबी गरिएको छ। प्रतियोगितामा अभिनेताद्वय दयाहाङ राई र अनुप बराल तथा अभिनेत्री ऋचा शर्माको निणार्यक रहेका थिए।

इमेज च्यानलबाट प्रत्येक बिहीबार बेलुका बजे प्रसारण हुँदै आएको प्रतियोगिताको अन्तिम स्पर्धा हालै राजधानीमा सम्पन्न भएको हो। कलाक्षेत्रमा प्रतिभावान कलाकार जन्माउने उद्देश्यले नेसनल एक्टिङ कम्पिटिसन आयोजना शुरु गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ। स्पर्धामा सामेल प्रतियोगीहरुलाई अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्केलगायतले अभिनयसम्बन्धी प्रशिक्षण दिएका थिए।