टोटनह्यामको शानदार जित


लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्याम हट्सपरले शानदार जित दर्ता गरेको छ ।

टोटनह्यामले अघिल्लो सिजनको च्याम्पियन लेस्टर सिटीलाई उसैको घरेलु मैदानमा ६–१ ले हराएको हो । स्टार फरवार्ड ह्यारी केन एक्लैले ४ गोल गरेपछि टोटेनह्याम हट्सपरले लेस्टर सिटीलाई फराकिलो गोलअन्तरले पराजित गर्न सफल भएको हो । यस सिजन प्रिमियर लिगकै सर्वाधिक गोलकर्ताको सुचीको शीर्षस्थानमा पुगेका केनले पहिलो हाफमा एक र दोश्रो हाफमा तीन गोल गरेका थिए ।

थप दुई गोल भने सन हेङ–मिनले गरे ।

खेलको २५औं मिनेटमा पहिलो गोल गरेका केनले ६३औं मिनेटमा दोश्रो गोल गरेका थिए । यस्तै खेलको ८८औं मिनेटमा ह्याट्रिक पुरा गरेका केनले इन्ज्युरी समयको दोस्रो मिनेटमा आफ्नो ब्यक्तिगत गोलसंख्या चार पुर्याए । सनले खेलको ३६औं र ७१औं मिनेटमा गरी दुई गोल गरेका थिए । लेस्टरका लागि चिलवेलले एक गोल फर्काए थिए ।

प्रिमियर लिगको एक खेल बाँकी हुँदासम्म केनको गोल संख्या २६ पुगेको छ् भने सात गोलका लागि सहयोग गरेका छन् । चोटका कारण उनले जारी सिजनका २९ खेल मात्र खेलेका छन् । यस्तै दोस्रो स्थानमा रहेका एभर्टनका रोमेलु लुकाकुले २४ तथा तेस्रो स्थानमा रहेका आर्सेनलका एलेक्स सान्चेजले २३ गोल गरेका छन् ।