“टोलटोलमा सडक पुर्याउँछु”


रामेछापको लिखु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गोविन्द्रबहादुर खड्काले तीन वर्षभित्र गाउँपालिकालाई समृद्ध बनाउने बताउनुभएको छ। उहाँले गाउँपालिकाको समृद्धिका लागि गुरुयोजना बनाएरै काम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘निर्वाचनमा जनतासमक्ष गरेको प्रतिवद्धताअनुसार नै काम गर्छु, जे बोलेको छु त्यो गरेर देखाउँछु।’

अध्यक्ष खड्काले गाउँपालिकाको सबै वडामा सडक पुगे पनि अब टोलटोलमा सडक पुर्याएर जनतालाई सुविधा दिने र गाउँपालिकाको सडकलाई पहिलो प्राथमिकतामा राखेर स्तरोन्नति गर्ने बताउनुभयो। शिक्षा ,स्वास्थ्य र विद्युतीकरणको कामलाई उच्च प्राथमिकता दिएर कृषिलाई आधुनिकीकरण गर्ने योजना तत्काल लागू गर्ने उहाँले बताउनुभयो।

लिखु खोलामा सञ्चालन हुने जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका जनतालाई निःशुल्क र गाउँपालिकाका अन्य वडाका जनतालाई अनिवार्य रूपमा सेयर हाल्ने व्यवस्था मिलाइने बताउँदै अध्यक्ष खड्काले प्रत्येक जनताको घरघरमा विकासको अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

जनताको चाहना विपरीतको काम नगर्ने बताउँदै उहाँले विगतमा जनप्रतिनिधि नहुँदा काम नभए पनि अब जनताले मतको सम्मान गर्दै गाउँपालिकाको समृद्धिका लागि मन, वचन र कर्मबाट लाग्ने बताउनुभयो। ‘मैले पदमा नभएर पनि गाउँपालिकाको विकासमा विगतमा पनि भूमिका खेलेको छु’, अध्यक्ष खड्काले भन्नुभयो– ‘अब गाउँपालिकाको विकास गर्न उद्योगधन्दा सञ्चालन गरेर गाउँघरमा नै रोजगारी सृजना गर्ने काम गर्छु।’
उहँँले भूकम्पपछिको पुनर्निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै भूकम्पपीडित भएर पनि राहत पाउन छुटेका भूकम्पपीडितलाई तत्काल राहत दिलाउने व्यवस्था मिलाउने बताउनुभयो।