काठमाडौँ–२ मा एमालेका श्रेष्ठको प्यानल विजयी


काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरपालिकाको वडा नं २ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल नै विजयी भएको छ ।

केही बेरअगाडि सम्पन्न मतपरिणाममा श्रेष्ठले एक हजार ८४० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार प्रमोदराज शर्माले ६८४ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै, महिला सदस्यमा पूर्णलक्ष्मी रजक, महिला दलित सदस्यमा ईश्वरी परियार, खुला सदस्यमा पदमकाजी महर्जन र विमल गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाको वडा नं २ मा तीन हजार ४५१ मत खसेको थियो । रासस

चन्द्रागिरि–८ मा एमाले विजयी

यसैबीच, चन्द्रागिरि नगरपालिका वडा नं ८ मा नेकपा (एमाले) का वडाध्यक्षका उम्मेदवार सन्तोष खडकाले ७५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सरोजकुमार थापाले ६८८ मत प्राप्त गर्नुभएको छ । तीन सदस्यमा एमालेका सबिता राउत, कृष्णमाया पुर्कोटी र कमल खत्री निर्वाचित हुनुभएको छ भने काँग्रेसका पुरुषोत्तम रिजाल विजयी हुनुभएको छ ।

प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले आठ हजार १७१ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने एमालेका प्रह्लाद कार्कीले पाँच हजार ९३७ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले छ हजार ७४६ र एमालेका लीसा नकर्मीले छ हजार ६०२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिनुभयो ।

कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा अहिले १० र ११ वडाको मतगणना जारी छ । रासस