ट्रेलरमा कमलेको बिहे

0
Shares

निर्देशक प्रशन्न पौडेलद्वारा निर्देशित फिल्म कमलेको बिहेको बिहीबार राजधानीमा आयोजित एक समारोहबीच गीत र ट्रेलर सार्वजनिक गरिएको छ।सरिता मुभिज क्रियसनको व्यानरमा सरिता लामाको निर्माण र दीपक विष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मबाट भिजे सन्ध्या केसीले नायिकाको रुपमा डेब्यु गरेकी छिन् भने अभिनेता अनुप विक्रम शाहीले पनि यसै फिल्ममार्फत नायकका रूपमा डेब्यु पाएका छन्। फिल्ममा अनुपविक्रम कमले र सन्ध्या चमेलीको भूमिकामा छन्।

कार्यक्रममा निर्देशक प्रसन्न पौडलले समाजमा भएका घटनाक्रममा स्क्रिप्ट बनेकाले मन परेर फिल्म निर्माण कार्य अगाडि बढाएको बताए। ‘यो फिल्म लभ र एरेन्ज म्यारिजबीचको कनफिल्क्ट हो। बीचमा नायकका रूपमा लिएको कलाकारको समय नमिलेपछि हामीले अर्को रोलमा रहेका फिल्म भित्रकै कलाकार अनुपविक्रम शाहीलाई नायकका रूपमा लिएका हौँ। नायिकाका रूपमा सन्ध्या केसीलाई डेब्यु गराएका छौँ। ‘नयाँ कलाकारहरुले पुराना कलाकारहरुले जत्तिकै मेहनतको साथ काम गरेका छन् र पात्रलाई न्याय दिएका छन्’ –उनले भने।

नायिका सन्ध्या कार्कीले ड्रिम्समा सानो भूमिकामा अभिनय गरे पनि नायिकाका रूपमा भने यो नै पहिलो फिल्म भएको बताइन्। ‘फिल्म युनिटका सबै मेम्बरहरुको सहयोगले गर्दा सुटिङको समय पनि भ्याकेसनजस्तो फिल भयो’ उनले भनिन्– ‘फिल्म पनि राम्रो बनेको छ।’ त्यसै गरी छायांकार विदुर पाण्डेले फिल्मको कथा निकै राम्रो रहेको र आफूले उक्त कथालाई राम्रोसँग क्यामेरामा उतार्ने प्रयास गरेको बताए। चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दीप सापकोटाले निर्देशक पौडेल नविनतम् र नौलो काम गर्न रुचाउने निर्देशक भएको चर्चा गर्दै कमलेको बिहे आफ्नै रीतिरिवाज र परिवेश सुहाउँदो बनेको बताए। त्यस्तै निर्देशक पौडेलकी आमा तथा कलाकार आशावादी पौडेलले फिल्मको लागि सुभेक्षा प्रदान गरिन्।

विनोद न्यौपाने, विशाल पहाडी, इशान ढकाल, किरण लाकौललगायतले पनि अभिनय गरको फिल्ममा कथा पटकथा र संवाद महेश दवाडी, संगीत राजनराज शिवाकोटी, शिखर सन्तोष र बाबुल गिरी, स्वर राजनराज शिवाकोटी, माण्डवी त्रिपाठी, युवराज चौलागार्इं, समीर आचार्य र अरुण यादव, नृत्य दीपकमान सिंह, द्वन्द्व सम्राट बस्नेत, छायांकन विदुर पाण्डे, सम्पादन तारा थापा ‘किम्भे’को रहेको छ। फिल्म सुदूरपश्चिका विभिन्न ठाउँ र विशेष गरी डडेलधुरामा खिचिएको कार्यक्रम सञ्चालक नरेश भट्टराईले जानकारी गराए।