डुम्रे (तनहुँ), ४ जेठ । स्थानीय निर्वाचन अन्तर्गत तनहुँका ६ गाउँपालिकाको परिणाम आएको छ ।
आँबुखैरेनी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार बनेका गिरबहादुर थापा विजयी भएका छन् । विजयी थापाले दुई हजार ५८९ मत ल्याएका छन् । थापाका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सन्तबहादुर केसीले दुई हजार २४२ मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा समेत काँग्रेसकै पुष्पादेवी श्रेष्ठ विजयी भएकी छन् । उपाध्यक्षमा विजयी श्रेष्ठले दुई हजार १६५ मत ल्याएकी छन् ।
काँग्रेसले उक्त गाउँपालिकाको वडा नम्बर १, २, ४, ५ र ६ जितेको छ भने एमालेले वडा नम्बर ३ जितेको छ ।
यसैगरी, ऋषिङ गाउँपालिकाको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठ चारहजार ९४१ र उपाध्यक्षमा काँग्रेसकै गिनुमाया थापा पाँच हजार ६ मत ल्याई विजयी भएका छन् । श्रेष्ठ र थापाका प्रतिद्वन्द्वीले क्रमशः दुई हजार ४८९ र दुई ३७७ मत ल्याएका छन् । ऋषिङ गाउँपालिकाका ८ वटा वडामा काँग्रेसको प्यानलै विजयी भएको छ ।
यसैगरी, घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षका उम्मेदवार रणबहादुर राना तीन हजार ७३० मत ल्याएर विजयी भएका छन् ।
यसैगरी म्याग्दे गाउँपालिकामा समेत काँग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेका माया राना र बालकृष्ण घिमिरे विजयी भएका छन् । अध्यक्षमा रानाले चार हजार ५६४ ल्याएकी छन् । उपाध्यक्षमा काँग्रेसका उम्मेदवार घिमिर चारहजार ६१४ मतका साथ विजयी भएका छन् ।
त्यस्तै, देवघाट गाँउपालिकामा भने अध्यक्षमा एमालेका उम्मेदवार दुर्गबहादुर थापा विजयी भएका छन् । उपाध्यक्षमा भने काँग्रेसबाट उम्मेदवार रहेकी विमला थापाले एक मतले विजयी भएकी छन् । अध्यक्ष थापाले दुई हजार ८७९ मत ल्याएका छन् ।
त्यसैगरी, बन्दिपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष थापाको दुईहजार ८६३ मतले विजयी भएका थिए । त्यस्तै उपाध्यक्षमा करुणा गुरुङ दुईहजार ६८३ मत ल्याएर विजयी भइन् ।
बाँकी चार नगरपालिकामा भने आज साँझसम्म सबै मत परिणाम आउने अनुमान गरिएको छ । रासस
प्रतिक्रिया