बेनी (म्याग्दी), ४ जेठ । गत वैशाख ३१ गते भएको म्याग्दीका स्थानीय तहको निर्वाचनको मतगणना आज बिहान सम्पन्न भएको छ ।
म्याग्दीका एक नगरपालिका र पाँच गाउँपालिकासहित छवटा स्थानीय तहमा भएको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुखसहित अन्नपूर्ण, मालिका र रघुगङ्गा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने मङ्गला र धौलागिरि गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख केदारनाथ पौडेलले जानकारी दिनुभएको छ ।
बेनी नगरपालिकाको प्रमुखमा नेकाका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गुर्नभएको छ ।
त्यसैगरी, अन्नपूर्ण गाउँपालिकामा नेकाका क्या. डमबहादुर पुन गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ३२० मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी नेकपा (एमाले)का नारायण पुनले तीन हजार १२७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, रघुगङ्गा गाउँपालिकामा नेकाका भवबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले चार हजार ४३४ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) का तर्फबाट अध्यक्षका उम्मेदवार खिमबहादुर शाहीले दुई हजार ७३० मत प्राप्त गर्नुभएको रघुगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइँकेलले जानकारी दिनुभएको छ ।
त्यसैगरी, उपाध्यक्षमा पनि नेकाकै कमला तिलिजाले तीन हजार ८४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमाले–माओवादी केन्द्र गठबन्धनका हरि भण्डारीले दुई हजार ६६२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, मालिका गाउँपालिकाको अध्यक्षमा पनि नेकाका श्रीप्रसाद रोका दुई हजार ७०६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गर्नुभएको छ ।
पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)की थमसरा पुन विजयी हुनुभएको छ । उहाँले दुई हजार ४६० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, मङ्गला गाउँपालिकामा नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार सतप्रसाद रोका निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । रासस
प्रतिक्रिया