गणना उस्तै सुस्त


आयोगले महानगरपालिकामा ११ वटासम्म गणना डेस्क राख्न निर्देशन दिए पनि बुधबार रातिसम्म त्यसको कार्यान्वयन भएको थिएन।

सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले बढी मतदाता भएको चारवटा महानगरपालिकामा मतगणनाको डेस्क ११ वटासम्म पुर्याउन सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।
आयोगले दिउँसो यस्तो निर्देशन दिए पनि रातिसम्म कार्यान्वयन गरिएको पाइएन। अहिलेकै गतिमा मतगणना हुने हो बढी मतदाता भएका चारवटा महागनगरपालिकाको मतपरिणाम आउन एक साताभन्दा बढी लाग्ने प्रतिक्रियाहरू आइरहेको स्थितिमा आयोगले सो निर्देशन दिएको हो। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा महानगरपालिमा मतगणनाको गति बढाउन सो निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

‘जिल्लाका मुख्य निर्वाचन अधिकृत कार्यालयलाई मतगणना डेस्क थप्न निर्देशन दिइसकेका छौं। उहाँहरूले छलफल गरेर आज साँझ वा भोलिसम्म कार्यान्वयनमा आइसक्नेछ’ –प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो। ११ वटा डेस्क राखेर मतगणना शुरू गरे एक साताभित्रै महानगरपालिकाको मतपरिणाम आउने पनि यादवको भनाइ रहेको छ।

ललितपुर जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख बालकृष्ण दवाडीले आयोगले दिएका निर्देशन कार्यान्वयन गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभयो। आवश्यक जनशक्ति र मतगणना गर्ने ठाउँको व्यवस्थापन मिलाउनेबारे उपलब्ध कर्मचारी, उम्मेदवार र निजका प्रतिनिधिसँग छलफल भइरहेको कार्यालयले जनाएको छ। ललितपुर महानगरपालिकाको मतगणना जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षणको ठूलो हल र दुईवटा कोठा गरी ६ वटा डेस्कबाट भइरहेको छ। ललितपुर महानगरपालिकाका लागि नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भन्नुभयो– ‘हामीले मतगणना ज्यादै सुस्त भएकोमा कति गुनासो गरिसक्यौं, कसैले सुन्दैन।’

आयोगले मतगणनाको विषयमा निर्देशन दिए पनि त्यसको कार्यान्वयनमा कानुनी जटिलता र व्यवस्थापकीय बाध्यता रहेको जनाएको छ। आयोगले मंगलबार पनि विज्ञप्ति जारी गरेर निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन। स्थानीय तहको निर्वाचन ऐन २०७३ अनुसार मतगणना गर्ने काम प्रत्यक्ष रेखदेख तथा नियन्त्रणमा गर्ने उल्लेख गरिएको छ। ऐनमा स्थानीय तहको निर्वाचनको मतगणना गर्ने स्थान तोक्ने जिम्मा पनि सम्बन्धित निर्वाचन अधिकृतकै हुनेछ।

कानुनतः मतगणनाको कार्य सम्पूर्ण जिम्मेवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयको हुनेछ। मतगणनासम्बन्धी कुनै विवाद वा अदालतमा प्रश्न उठेमा पनि त्यसको प्रतिवाद गर्ने जिम्मा पनि कार्यालयको हुनेछ। ‘हामीले स्रोत, साधन मात्र मिलाइदिने हो’, प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो– ‘उहाँहरूले आवश्यक प्रबन्ध गरेमा आवश्यक स्रोत साधन व्यहोर्न आयोग तयार रहेको छ।’ आयोगले यस्तो निर्देशन दिए पनि मतगणना डेस्क थप्न जनशक्ति मिलाउन कठिनाइ भइरहेको काठमाडौं निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

मतगणना सुस्त हुनुको मुख्य कारण मतपत्रको आकार निकै ठूलो भएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘मतपत्र ठूलो हुनुको मुख्य कारण राजनीतिक नै हो। वास्तवमा यो हाम्रो बाध्यता हो।’

‘तर १५ दिनभित्रमा लाखौं मतपत्र छाप्न भ्याइँदैन। मतपत्र छाप्ने भनेको जनक शिक्षा सामग्री केन्द्र मात्र हो। यसो भएकाले हामीले अनुमानको भरमा मत छाप्नुपर्ने हुन्छ। अनुमान गर्दा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेकोलाई आधार मान्छौं। यसो गर्नुको अर्को विकल्प पनि छैन’ –उहाँले भन्नुभयो।

प्रत्येक मतदान केन्द्रको मत त्यही स्थानमा गनौं भन्ने आयोगले राखेको प्रस्तावमा राजनीतिक दलहरू नमान्ने अनि मतगणना ढिलाइ भएको मात्र गुनासो गर्नु उचित नहुने पनि प्रमुख निर्वाचन आयुक्त यादवको तर्क रहेको छ। २०५४ सालको निर्वाचनमा पनि मतगणना गर्न एक साता लागेको स्मरण गर्दै अहिले आएर मात्र गणना सुस्त भएकोमा आयोगलाई गाली गर्न मनासिव नहुने पनि यादवको भनाइ रहेको छ। ‘अहिले त मतपत्र पनि ठूलो छ, मतदाताहरूको संख्या पनि धेरै छ, समय त लाग्नु स्वाभाविकै हो’, उहाँले भन्नुभयो– ‘बढी समय लाग्दा आत्तिनुपर्ने आवश्यकता छैन।’

काठमाडौं महानगरपालिकामा १ लाख ९० हजार मत खसेको थियो। दुई दिनभित्रमा ५ हजार ७ सय मत गन्न सकिएको छ। ललितपुर महानगरपालिकामा कुल मत ८९ हजार ९ सय २९ मत खसेको थियो। ललितपुर महानगरपालिकाका जम्मा २९ वडा रहेका छ। भरतपुर महानगरपालिकामा १ लाख १२ हजार ७ सय मत खसेको थियो। पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडामा कुल मतदाता १ लाख ६८ हजार ६७ जना रहेका छन्।