१४ ले मागे ११ कक्षाको अनुमति


नेपाल समाचारपत्र, बाँके । बाँकेमा १४ वटा स्कूलले ११ कक्षा सञ्चालनका लागि अनुमति मागेका छन् ।
१२ कक्षासम्म स्कूल तह बनाइएपछि दश कक्षासम्म सञ्चालनमा रहेका स्कूलले ११ कक्षाको अनुमति मागेका हुन् । ११ कक्षाको अनुमति मागेका स्कूलको फाइललाई जिल्ला शिक्षा कार्यालय, बाँकेले क्षेत्रमा पठाइसकेको छ । ‘जिल्लामा गठन गरिएको तीन सदस्यीय टोलीले आधारभूत पूर्वाधारको अध्ययन गरेर फाइल क्षेत्रमा पठाएका छौं, जिल्ला शिक्षा कार्यालय, बाँकेका अधिकृत मनप्रसाद रेग्मीले भन्नुभयो, क्षेत्रले हेर्न मन लागे एकपटक अनुगमन गर्छ । नत्र, त्यो फाइललाई विभागमा पठाउँछ र विभागले अनुमति दिन्छ ।’
बाँकेमा सञ्चालनमा रहेका ठूला स्कूलले ११ कक्षाको अनुमति मागेका छन् । अनुमति मागेका जति स्कूलको पूर्वाधार रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ‘कक्षा कोठा, शौचालय, खेल मैदानलगायतका पूर्वाधार हेर्ने हो, त्यो सबैसँग देखिन्छ, रेग्मीले भन्नुभयो ।
दश कक्षासम्म आफ्नो स्कूलमा पढेका विद्यार्थीलाई एघार र बाह्र कक्षा पनि पढाउने स्कूलहरुले योजना बनाएका छन् । विगतमा धमाधम एघार कक्षा सञ्चालन गरेका स्कूलमा विद्यार्थीको अभाव रहने गरेको पाइन्थ्यो । सरकारले ग्रेड प्रणाली लागु गरेपछि विद्यार्थीको कमी रहदैन । ‘विषय नमिल्ने फरक कुरा हो । विद्यार्थी त भइहाल्छन्, रेग्मीले भन्नुभयो ।
बाँकेमा आठ हजार सात सय विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका छन् । चैत्र पहिलो साता परीक्षा दिएका उनीहरुको नतिजा आइसकेको छैन । एसइइको नतिजा सँगसँगै विद्यालयलाई ११ को अनुमति आउने बुझिएको छ । यो वर्ष ११ को अनुमति मागेकाले अर्को वर्ष १२ कक्षा सञ्चालन गर्नेछन् ।
सरकारले ग्रेड प्रणाली सञ्चालन गरेपछि मावि तहको ड्रपआउट घटेको छ । जसले गर्दा ११ कक्षा सञ्चालन गर्ने विद्यालयलाई विद्यार्थीको कमी नहुने देखिएको छ । यद्यपि, जिल्लामा तल्लो तहमै ड्रप आउट डरलाग्दो रहेको छ ।
जिल्ला शिक्षा कार्यालय, बाँकेकै तथ्यांकले एक कक्षामा भर्ना भएका १६ प्रतिशत विद्यार्थीमात्रै दश कक्षामा पुग्ने गरेको देखाएको छ । बाँकी ८४ प्रतिशत विद्यार्थी कहाँ जान्छन्, यो जिल्लाको चुनौतीको विषय हो ।
सरकारले फेल नै नहुने परिपाटीको विकास गरेर परीक्षा लिएर अघि बढ्दा पनि विद्यार्थीहरु स्कूलमा टिक्न सकेका छैनन् । निमाविदेखि माविकै ड्रपआउट कहालीलाग्दो रहेको छ । प्राविमा ५८ हजार विद्यार्थी हुने बाँकेमा निमाविमा २० हजार र माविमा पुग्दा नौ हजारमा झर्ने गर्दछ । आठदेखि दश कक्षामा पुग्दा नै ११ हजार विद्यार्थी हराउने गरेका छन् ।