पोखरा, ३ जेठ । कास्कीको माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कर्णबहादुर गुरुङ पाँच हजार ८०७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसका खुसीमान गुरुङले चार हजार ६०१ मत ल्याउनुभएको थियो ।
गाउँपालिकाको उपाध्यक्षमा एमालेकै कृष्णकुमारी पौडेल दवाडी पाँच हजार ४७९ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी टेकनसुब्बा गुरुङले चार हजार ४७३ मत प्राप्त गर्नुभएको थियो ।
गाउँपालिकाको वडा नं ३ देखि ९ सम्मको पूरै समूह एमालेले जितेको छ । जसमा वडा नं– ३,४,५,६,७,८ र ९ को वडाध्यक्षमा क्रमशः सूर्यप्रसाद लम्साल, पूर्णबहादुर शाही, जुमबहादुर गुरुङ, हरिश्चन्द्र ढुङ्गाना, सोमबहादुर गुरुङ, कृष्ण दवाडी र दुर्गाबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ ।
वडा नं १ कौ पूरै समूह नेपाली काँग्रेसले जितेको छ । जसको वडाध्यक्षमा वीरेन्द्र गुरुङ विजयी हुनुुभएको छ । त्यस्तै वडा नं २ को वडाध्यक्षमा एमालेका विक्रम गुरुङ र महिला सदस्य र दलित सदस्यमा एमाले तथा दुई खुल्ला सदस्यमा नेपाली काँग्रेस विजयी भएको छ ।
नौ वडा रहेको यस गाउँपालिकामा १६ हजार ३०१ मतदाता रहेकामा १२ हजार ३१३ मत खसेको निर्वाचन अधिकृत गङ्गाप्रसाद पौडेलले जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी
कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका युवराज कँुंवर चार हजार ६७२ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम् प्रतिद्धन्दी नेकपा (एमाले)का विष्णुबहादुर केसीले चार हजार ४०८ मत पाउनुभएको थियो ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सगुन गुरुङले चार हजार ५८६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी खिमकुमारी गुरुङले चार हजार ४६९ मत पाउनुभएको छ । एघार वडा भएको सो गाउँपालिकामा १५ हजार ५६९ मतदाता रहेकोमा ११ हजार ४५० मत खसेको थियो । रासस
प्रतिक्रिया