सायद–२ जापानबाट

0
Shares

शायदको सफलतापछि निर्माण गरिएको दोस्रो संस्करणको फिल्म सायद–२ को जापानमा प्रिमियर शो गरिएको छ। आगामी असार ३० गतेबाट अलनेपाल रिलिज हुने सायद–२ को कलाकार तथा निर्माताको टोलीका साथ जापानमा प्रिमियर गरिएको हो।

विदेशमा विशेष प्रदर्शनको दौडाहा गर्ने क्रमा सायद–२ लाई ५ सयभन्दा बढी दर्शकका बीच जापानमा देखाइएको निर्माता तथा अभिनेता सुनील रावलले जापानबाट नेपाल समाचारपत्रलाई जानकारी गराए। फिल्म हेर्न जापानका लागि नेपालका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएन जापानका अध्यक्ष सुधन थापालगायत समेत सहभागी भएका थिए।

फिल्मको शोपछि सायद–२ ले युवा पुस्ताको वास्तविक कथालाई उठाएको भन्दै दर्शकले उत्साहजनक प्रतिक्रिया दिएको रावलले बताए। सायद–२ को प्रिमियरमा सरिक हुन नेपालबाट त्यसका नायक सुशील श्रेष्ठ, प्रस्तुतकर्ता दुर्गिस थापा, निर्माता सुनील रावलका साथमा सञ्चारकर्मी श्याम अर्याल र सचित खड्कालगायतको टोली जापान पुगेको थियो। सुनील रावल, ईश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेको सायद–२ मा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगानालगायतका कलाकारहरुको अभिनय छ। सुनील रावलको कथा, राजुविक्रम थापाको छायांकन, अष्ट महर्जनको द्वन्द्व, गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको फिल्मलाई पुष्पराज न्यौपानले निर्देशन गरेका हुन्।