प्रधानमन्त्रीले राजीनामा दिने, मधेसी नेतासँग प्रमको भनाइ– ‘समस्याको मुख्य कारक एमाले’



मधुसूदन रायमाझी
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठको पहिलो साता प्रधानमन्त्री पदबाट राजीनामा दिनुहुने भएको छ। सरकार गठन गर्नुपूर्व नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजीनामा दिन लाग्नुभएको हो।

प्रधानमन्त्री प्रचण्डले सहमतिअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताउनुभयो। पर्सि जेठ ४ गते संसद् बैठक शुरू भएपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने तयारी गर्नुभएको छ। स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गराउने सर्तमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई एक महिना थप सरकारको नेतृत्व दिने सहमति जनाएको थियो।

प्रधानमन्त्री प्रचण्डले सोमबार राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताहरूसँग छलफल गर्नुभएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँले पहिलो चरणको निर्वाचन सम्पन्न भए पनि दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताउनुभएको थियो।

भेटमा सहभागी राजपाका नेता राजकिशोर यादवले पहिलो चरणको निर्वाचन सम्पन्न भएकाले अब दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन सहमतिमा आउन प्रधानमन्त्रीले आग्रह गरेको बताउनुभयो। प्रचण्डको भनाइ उद्धृत गर्दै यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कांग्रेससँग भएको सहमतिअनुसार नै जेठको पहिलो साता नै राजीनामा गरेर कांग्र्रेसलाई सत्ता हस्तान्तरण गर्छु, स्थानीय प्रदेश र केन्द्रीय चुनावसम्म नै अहिलेको गठबन्धन कायम गरौं।’

राजपासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले अहिलेको राजनीतिक समस्याको मुख्य कारण एमाले नै भएको बताउनुभएको थियो। ‘एमाले नै समस्याको कारक हो, राष्ट्रिय समस्या समाधान गर्न एमालेले देखाएको अडानले समस्यामाथि समस्या थपिँदै गएको छ, सबै मिलेर अहिले देखिएको गाँठो फुकाउनुपर्छ।’ –प्रचण्डले भन्नुभएको थियो। पहिलो चरणको निर्वाचनमा एमालेले अग्रता हासिल गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले एमाले समस्या भएको मधेसी नेताहरूसँग बताउनुभएको हो।

संविधानको धारा २९८ को उपधारा २ बमोजिम नयाँ प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिले सहमतिका लागि एक साताको समयावधि दिने प्रावधान छ। संसद्मा रहेका दलहरूबीच सहमतिको अवस्था नभएकाले सात दिन बितेपछि संसद्बाट बहुमतको आधारमा प्रधानमन्त्रीको चयन हुनेछ।

प्रधानमन्त्री प्रचण्डले पहिलो साता राजीनामा दिए पनि जेठ १५ गतेअघि नै सरकार गठन हुने सम्भावना कम रहेको माओवादीका एक नेताले बताए। सहमतिअनुसार प्रचण्डले राजीनामा दिएपछि कामचलाउ सरकारले नै बजेट ल्याउने बताइएको छ।

संविधानले नयाँ आर्थिक वर्षको बजेट जेठ १५मै ल्याउनुपर्ने प्रस्ट व्यवस्था गरेको छ। कामचलाउ बजेटमा कर्मचारीहरूको तलबभत्तालगायत प्रशासनिक खर्चका अतिरिक्त पुनर्निर्माणमा लाग्ने खर्च, पहिलो चरणको चुनावबाट बन्ने स्थानीय तहको निम्ति तत्काल गर्नुपर्ने खर्च र प्रदेश तथा संघीय चुनावका लागि चाहिने खर्च समेटिने छन्।

कामचलाउ सरकारले बजेट ल्याए पनि आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन भने देउवाले गर्नुहुने भएको छ। बजेट जारी भए पनि देउवाको नेतृत्वमा बन्ने सरकारले जेठ ३१ पछि पूरक बजेट ल्याउने भएको छ।

प्रतिक्रिया दिनुहोस्