गणना सुस्त


सुनील महर्जन, काठमाडौं
आइतबार राति करिब १२ बजेबाट ललितपुर महानगरपालिका वडा नम्बर १ को मतगणना शुरू गरिएको थियो। सो वडामा कुल खसेको १ हजार ७ सय मत सोमबार साढे २ बजे गणना सकियो।

‘१ हजार ७ सय मत गन्न झन्डै १५ घण्टा लाग्यो। यही गतिले मत गन्ने हो भने पुरै महानगरपालिकाको मतपरिणाम आउन एक साताभन्दा बढी समय लाग्ने देखिएको छ।’ –नेकपा एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भन्नुभयो।

ललितपुर महानगरपालिकामा मात्र नभई काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालय, राष्ट्रिय सभागृहको अवस्था पनि यस्तै थियो। सोमबार बिहानदेखि गन्न शुरू गरिएको काठमाडौं महानगरपालिका वडा नम्बर १ को मतगणनामा १ सय ५० मत गन्न ५ घण्टा लागेको थियो। कुल मतदाता संख्या २ लाख ७१ हजार २ सय २१ रहेकामा निर्वाचनमा झन्डै ७० प्रतिशत मत अर्थात् करिब १ लाख ९० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

‘यही गतिले भए भरको मत गन्न कति दिन लाग्ला?’ भनेर मतगणनामा खटिएका निर्वाचन आयोगका कर्मचारी र स्वयं राजनीतिक दलका कर्मचारीहरूले आपसी कुरा गरिरहेको सुनिन्थ्यो। सोमबार सामाजिक सञ्जालमा पनि यस्तै खालका प्रतिक्रिया धेरैले दिएको पाइयो। ‘५ हजार मत गन्न एक दिन र एक रात लाग्यो। यस्तै पाराले दुई सातासम्म पनि नतिजा आउँने छाँटकाँट देखिन्न।’ –जावलाखेलस्थित मतगणनास्थलमा भेट हुनुभएका नेकपा माओवादी केन्द्रका नेता लक्ष्मण महर्जनले भन्नुभयो।

कुल १ लाख १२ हजार १ सय २३ मध्ये ललितपुर महानगरपालिकामा कुल मत ८९ हजार ९ सय २९ मत खसेको थियो। महानगरपालिकाका जम्मा २९ वडा रहेका छन्।

‘दिनभर मतदानस्थलमा खटिएका कर्मचारीहरूले रातभर मतगणनामा संलग्न हुनुपरेको थियो। रातको समयमा सबै थाकेका थिए। मत गन्न अलि गाह्रो हुने भइहाल्यो’, ललितपुरका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कर्मचारीले अहोरात्र काम गरिरहेकाले मतगणना कार्यमा ढिलाइ भएको भन्न मिल्दैन।’

‘यसपटक मतपत्रको आकार निकै ठूलो छ। सात ठाउँमा हेर्नुपर्दछ। एउटै कोठामा एकभन्दा बढी चिह्न लगाएको छ कि छैन भनेर हेर्नुपर्यो। बदर मत छ कि छैन भनेर जाँच गर्नुपर्यो।’ –उहाँले भन्नुभयो।

‘राजनीतिक दललाई देखाउनुपर्यो। अनि टिप्नुपर्यो। यसले गर्दा विगतको निर्वाचनको तुलनामा मतगणना सुस्त देखिएको मात्र हो।’ –उहाँको थप भनाइ थियो।

मतगणना गर्दा मतपेटिकाबाट मतपत्र खन्याई रित्तो भएको मतपेटिका उम्मेदवार वा निजको प्रतिनिधिलाई देखाइन्छ। पट्याइएका मतपत्रहरू खोलेर निर्वाचन चिह्न भएको भाग घोप्ट्याएर राखी सुविधाअनुसार ५० वा १ सय मतपत्रको ठेली वा रबरले बाँधेर राखिन्छ।

प्रत्येक मतपत्र उम्मेदवार वा निजको प्रतिनिधिलाई देखाउने गरिन्छ। त्यसपछि सबैभन्दा पहिलो बदर मत गणना गरिसकेपछि सदर मत गणना गरिन्छ। त्यसपछि सदर मत र बदर मत अलग–अलग खाममा राखेर लाहा छाप लगाउने गरिन्छ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना शुरू गर्दा एक कोठामा पाँच ठाउँमा मत गनिएको थियो भने सोमबार थप अर्को कोठामा मत गन्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जनाएको छ।

काठमाडौं र ललितपुरमा मात्र नभई मतगणना शुरू भएका अधिकाश जिल्लाको मतगणनाको गति यस्तै सुस्त रहेको पाइएको छ। ‘स्थानीय तहको मत गणनालाई पहिलेको संविधानसभा वा ससदीय निर्वाचनसँग तुलना गर्नु हुन्न। सबैलाई चित्त बुझाएर र प्रक्रिया पुर्याएर मत गन्नुपर्दछ।’ –प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सम्पन्न भएका ३४ जिल्लाका २ सय ८१ स्थानीय तहमा ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ।

यसैबीच पहिलो चरणमा निर्वाचन भएका प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमध्ये २४ वटा स्थानीय तहमा मतगणना सोमबार रातिसम्म पनि शुरू हुन सकेको छैन।

निर्वाचन आयोगले कतै सर्वदलीय बैठकमा सहमति नजुट्दा र कतै मतपेटिका मतगणना स्थलसम्म ल्याउन सम्भव नहुँदा गणना शुरू हुन नसकेको निर्वाचन आयोगले जनाएको छ। कतै भने दलहरूको मतभेद र मतपत्रमा देखिएको चिह्न विवादका कारण पनि गणनामा ढिलाइ भइरहेको छ।

आयोगका अनुसार, दोलखा, रामेछाप, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर, लमजुङ, बाग्लुङ, म्याग्दी, दैलेख, सल्यान, रुकुम, कालिकोट, डोल्पा, मुगु र हुम्लाका स्थानीय तहहरूमा मतगणना हुन नसकेको हो।

मतपेटिका ढुवानी गर्न असुविधा रहेका दुर्गम भेगहरूबाट हेलिकोप्टर मार्फत् भोलिसम्ममा गणनास्थलमा ल्याइने निर्वाचन आयोगले जनाएको छ।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका ६ वटा मतदान केन्द्रको मतपेटिका सोमबार साँझसम्म पनि निर्वाचन मुख्य अधिकृतको कार्यालयमा पुग्न नसकेको निर्वाचन आयोगले जनाएको छ।

एमाले अघिअघि, कांग्रेस पछिपछि

काठमाडौं, (नेस)
३४ जिल्लाका २ सय ८१ स्थानमा भएको स्थानीय तहको निर्वाचनको प्रारम्भिक परिणामअनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अघिअघि कांग्रेस पछिपछि देखिएको छ। सोमबार रातिसम्मको मतगणनाअनुसार सत्तारूढ दल कांग्रेसलाई उछिन्दै एमालेले अग्रता लिएको छ। तेस्रो स्थानमा सत्ताको नेतृत्व सम्हालेको दल नेकपा माओवादी केन्द्र रहेको छ।

नेकपा (एमाले)ले ७० स्थानमा अग्रता लिएको छ भने कांग्रेसले ६५, स्वतन्त्रले ३५ र माओवादी केन्द्रले ३० स्थानमा अग्रता लिएको छ। सबैभन्दा बढी मतदाता रहेको काठमाडौं महानगरपालिकासहित चारवटा महानगरपालिकामा को मेयर बन्लान् भन्ने विषयलाई सबैले निकै चासोपूर्वक लिएका छन्। भरतपुरसमेत मतगणना शुरू भएका चारै महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।

पहिलो चरणको निर्वाचनमा परेका चार महानगरपालिकामध्ये काठमाडौं, ललितपुर र पोखरामा शुरूदेखि नै एमाले अग्रस्थानमा थियो। नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका बाबजुद भरतपुरमा पनि एमालेले अग्रता लिएको हो।

पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका रेणु दाहालले ४१ मत र एमालेका देवी ज्ञवालीले ४९ मत ल्याएर उछिन्नुभएको छ।

बिहानदेखिको विवादका कारण मतगणना हुन नसकेको चितवनको भरतपुर महानगरपालिकामा मतगणना दिउँसो शुरू भएको थियो। भरतपुरको कर्भड हलमा महानगरपालिकाको वडा नम्बर १ रामनगर क्षेत्रबाट मतगणना शुरू गरिएको हो। भरतपुर महानगरपालिकामा प्रधानमन्त्री प्रचण्डपुत्री दाहाललाई मेयरमा कांग्रेसले समर्थन गरेका कारण सर्वाधिक चर्चामा रहनुभएको छ। उहाँलाई एमालेका उम्मेदवार ज्ञवालीले टक्कर दिइरहनुभएको छ।

दाहाललाई जिताउन भरतपुरमा कांग्रेस र माओवादीले गठबन्धन गरेका हुन्। कांग्रेसले आफ्ना उम्मेदवार दिनेश कोइरालाको मनोनयन फिर्ता लिन लगाएर माओवादीकी दाहाललाई सहयोग गर्ने निर्णय गरेको थियो। उहाँको प्रचारको निम्ति आयोजित चुनावी सभामा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले भाषण गर्नुभएको थियो।

भरतपुरमा दलहरूले मतदाताभन्दा बढी मत कुनै मतपेटिकामा भेटिए मान्य नहुने अडान लिएका थिए। दिउँसो २ बजेपछि बसेको बैठकमा प्रमुख निर्वाचन अधिकृत प्रचलित कानुनबमोजिम मत गणना गर्न तयार भएपछि बल्ल मतगणना थालनी गरिएको थियो।

यसअघि सर्वदलीय बैठकमा माओवादी केन्द्रका प्रतिनिधिले हँसिया हथ्यौडा चिह्नका साथै रूख चिह्नमा आएको मत पनि आफ्नो पक्षमा गणना हुनुपर्ने माग राखेका थिए। सर्वाधिक चासोमा रहेको भरतपुर महानगरपालिकाको मतगणना साँझ मात्र शुरू भएको थियो। बिहान १० बजेदेखि बसेको सर्वदलीय बैठकमा पटकपटक विवाद भएपछि ढिला गरी मतगणना शुरू भएको हो।

यता काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्यले आफ्ना प्रतिद्वन्द्वीहरूलाई उछिन्नुभएको छ। शाक्यले अहिलेसम्म ५६ मत पाउनुभएको छ भने कांग्रेसका उम्मेदवार राजुराज जोशी विवेकशील र साझा पार्टीका उम्मेदवारभन्दा पछाडि पर्नुभएको छ। त्यस्तै, ललितपुरमा एमालेका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार अगाडि देखिनुभएको छ। हरिकृष्ण व्यञ्जनकार १ हजार ८ सय ४२ मत र नेपाली काग्रेसका उम्मेदवार चिरिबाबु महर्जन १ सय ७ सय ४५ मत र नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जनले ७ सय ३३ मत प्राप्त गर्नुभएको छ। उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार गीता सत्याल १ हजार ४ सय १ मत, नेकपा (माओवादी केन्द्र) का हसिना शाक्य ५ सय ७७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुकाजी प्रधानले ५ सय ९८ मत पाउनुभएको छ।

काठमाडौं महानगरपालिकाको मतगणना शुरू हुँदै गर्दा काठमाडौंभित्रका १० वटा नगरपालिकामा एमालेले प्रारम्भिक अग्रता लिएको छ। काठमाडौं महानगरपालिकामा साझा पार्टीले दोस्रो र कांग्रेस तेस्रो स्थानमा रहेका छन्। मेयरका उम्मेदवार नेपाली कांग्रेसका राजुराज जोशी ३६ मत, माओवादी केन्द्रका सर्वोत्तम डंगोल ६ मत, साझा पार्टीका किशोर थापा ३५ मत, विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना ३१ मत र नयाँ शक्ति र संघीय समाजवादी फोरमका पवित्र वज्राचार्यले ४ मत ल्याउनुभएको थियो। काठमाडौंको चन्द्रागिरी नगरपालिकामा माओवादीले अग्रता लिएको छ। हालसम्म शंखरापुर, बूढानीलकण्ठ, नागार्जुन, कीर्तिपुर, दक्षिणकाली र टोखा नगरपालिकामा एमालेका मेयर र उपमेयरका उम्मेदवारले अग्रता लिइरहेका छन्। कांग्रेसले कागेश्वरी मनहरा र गोकर्णेश्वर नगरपालिकामा अग्रता लिएको छ।

तारकेश्वर नगरपालिकाको मतगणनाको प्रारम्भिक नतिजा रातिसम्म बाहिर आएको थिएन। एमालेले बूढानीलकण्ठको वडा नम्बर १३ मा प्यानलै जितेको छ भने कीर्तिपुर र नागार्जुन नगरपालिकाका केही वडामा पनि जितेको छ।

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ। अहिलेसम्म ७ सय ५२ मत गणना गरिएकामा मेयरमा एमालेका मानबहादुर जिसीले ४ सय ५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका रामजी कुँवरले २ सय ५१ मत प्राप्त गर्नुभएको छ।

उपमेयरमा एमालेकी मञ्जु गुरुङले ३ सय ९३ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सरस्वती गुरुङले २ सय ५६ मत प्राप्त गर्नुभएको छ। कांग्रेस माओवादीका तर्फबाट मेयरमा रामजी कुवँर र सरस्वती गुरुङ तथा एमाले राप्रपाबाट मानबहादुर जिसी र मञ्जु गुरुङ उम्मेदवार रहनुभएको छ। पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडामा कुल मतदाता १ लाख ६८ हजार ६७ जना रहेका छन्।