स्वतन्त्र उम्मेदवार पहिलो पटक विजयी

0
Shares

हेटौंडा,(नेस)
स्थानीय निकाय निर्वाचनमा विजयी हुनेहरुको नाम सार्वजनिक हुन थालेको छ ।

मकवानपुरको मनहरी गाउँपालिकाको ९ नम्बर वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार साधुराम अधिकारी विजयी भएका छन् । अधिकारीलाई नेकपा एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनी निर्वाचित हुने सम्भवतः पहिलो स्वतन्त्र उम्मेदवार हुन् ।

मकवानपुरको बागमती गाउँपालिकामा वडा नम्बर १ को मतगणना सकिएको छ । मतगणना सकिएसँगै वडा नम्बर १ मा नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार ठगेन्द्र वाइबा विजयी भएका छन् ।

उनले ३ सय ३६ मत प्राप्त गरेका छन् । उनले नेकपा माओवादी केन्द्रकी यमुना राईलाई ३ मतले पछि पारेका हुन् । राईले ३ सय ३३ मत प्राप्त गरेका छन् ।
राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष उम्मेदवार कान्छाराम रुम्बाले ३ सय ३६ मत प्राप्त गरी विजयी भएका छन् ।

एमालेका सिंहबहादुर रुम्बाले २ सय ५६ मत ल्याए । कांग्रेसका तर्फबाट मैना गोले, सूर्यबहादुर गोले, मायादेवी सुनार र लालबहादुर चेपाङ पनि विजयी भएका छन् ।
थाहा नगरपालिका वडा नम्बर–५ मा एमालेको प्यानल विजयी भएको छ । अध्यक्षमा एमालेका विष्णु गुरुङले ४ सय ६७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका भीमबहादुर भम्जनले ३ सय १ मत प्राप्त गरेका छन् ।

बकैया गाउँपालिका वडा नं १को अध्यक्षमा माओवादी केन्द्रका वुद्धिमान वाइबा विजयी भएका छन् । उनी २ सय ३१ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेले २ सय ७ मत ल्याएको छ ।