जंगली च्याउ खाँदा एकै परिवारका ६ जना सिकिस्त


नेपाल समाचारपत्र, हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ राजदमारमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना सिकिस्त भएका छन् ।

आइतबार विहान खाएको च्याउका कारण बकैया–५ का लगुराम दोङकी पत्नी चिनीमाया दोङ, छोराहरु सोमबहादुर दोङ, सुमन दोङ र सुजन दोङ, बुहारी सपना दोङ तथा छोरी निर्मला दोङ बिरामी भएका हुन् । बिरामीमध्ये बुहारी तथा कान्छो छोरा सुजनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

जंगली च्याउ खाएका उनीहरुलाई समस्या पर्दै गएपछि सोमबार विहानमात्र बकैया–४ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । केन्द्रकी डाक्टर अनु श्रेष्ठका अनुसार उनीहरुलाई उपचारका लागि ल्याउन ढिला भएका कारण समस्या थपिएको छ ।