लिभरपुलको शानदार जित

0
Shares

लन्डन, (एजेन्सी)
ईग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा लिभरपुलले शानदार जित हासिल गरेको छ।

लिभरपुलले वेस्टह्याम युनाइटेडलाई ४–० ले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा अडिग रहन सफल भएको छ। जितसँगै लिभरपुलले दोस्रो स्थानको टोटेनह्यामसँगको अंक दूरी पनि छोटइएको छ।

लिभरपुलको जितमा डेनिएल स्टुरीजले खेलको ३५औं मिनेटमा पहिलो गोल गरेका थिए। पहिलो हाफसम्म एक गोलले अघि रहेको लिभरपुलका तर्फबाट खेलको ५७औं र ६१औं मिनेटमा कौटिन्होले लगालग दुई गोल गर्दै अग्रता तेब्बर बनाए। यस्तै खेलको ७६औं मिनेटमा ओनिगीले थप एक गोल गरेपछि लिभरपुलको गोलसंख्या चार पुग्यो। जितसँगै लिभरपुलको ३७ खेलबाट ७३ अंक भएको छ। यता दोस्रो स्थानमा रहेको टोटेनह्यामको ३५ खेलबाट ७७ अंक रहेको छ।

आइतबार राति नै भएको अर्को खेलमा क्रिस्टल प्यालेसले पनि हल सिटीलाई पराजित गरेको छ। प्यालेसले पनि हललाई ४–० को फराकिलो गोल अन्तरले नै पराजित गरेको हो। प्यालेसको जितमा जाहाले खेलको तेस्रो मिनेटमै गोलको खाता खोलेका थिए। यस्तै ३४औं मिनेटमा बेन्टेकले गोल गरेपछि प्यालेस पहिलो हाफसम्म २–० ले अघि रहेको थियो। यस्तै खेलको ८५औं मिनेटमा मिलिभोजेभिकले पेनाल्टीमार्फत गोल गर्दै प्यालेसको गोलसंख्या चार पुर्याए।

खेलको इन्जुरी समयमा भान आनहोल्टले चौथो गोल गरेपछि प्यालेसले तीन अंक आफ्नो पोल्टामा पारे। जितपछि ३७ खेलबाट ४१ अंकसहित प्यालेस १३औं स्थानमा रहँदा हल सिटी भने प्रिमियर श्रेणीबाट घटुवा हुने पक्का भएको छ। हलले ३७ खेलबाट ३४ अंक मात्र जोडेका छन्।

यसअघि शनिबार राति भएको खेलमा आर्सेनल र म्यानचेस्टर सिटीले जित हात पारेका थिए। आर्सेनलले स्टोक सिटीलाई उसकै घरेलु मैदानमा ४–१ को फराकिलो अन्तरले पराजित गर्दा म्यानचेस्टर सिटीले पनि लेस्टर सिटीलाई २–१ ले पाखा लगाएका थिए।

अंक तालिकाको चौथो स्थानमा पर्न संघर्षरत आर्सेनललाई खेलको ४२औं मिनेटमा हेक्टर बेलेरिनको पासमा ओलिभर गिरौडले गोल गर्दै अग्रता दिलाएका थिए। यस्तै दोस्रो हाफको ५५औं मिनेटमा एलेक्सिस सान्चेजको पासमा मेसुट ओजिलले गोल गर्दै आर्सेनलको अग्रता दोब्बर पारे।

पिटर क्राउचले हेडिङ गर्ने प्रयासमा बललाई हातले जाली चुमाए पनि रेफ्रीले त्यसलाई गोल दिएपछि स्टोकले एक गोल फर्काउन सफल भयो। तर ७६औं मिनेटमा सान्चेजले पुनः गोल गर्दै खेलमा आर्सेनलको गोल संख्या तीन पुर्याए। यस्तै खेलको ८०औं मिनेटमा गिरौडले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सेनलले ४–१ को जित सुनिश्चित पारे।

यस्तै अर्को खेलमा म्यानचेस्टरलाई जित दिलाउन खेलको २९औं मिनेटमा डेभिड सिल्भाले पहिलो गोल गरेका थिए। त्यसको सात मिनेटपछि नै डे जिससले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए। यता लेस्टरका तर्फबाट ओकाजाकिले खेलको ४२औं मिनेटमा एक फर्काएर खेलमा पुनरागमन गर्ने छाँटकाँट देखाएका थिए। तर दोस्रो हाफमा भने दुवै टोलीले कुनै गोल गर्न नसकेपछि सिटीले जित पक्का गर्यो।

शीर्ष चारमा पर्ने होड रोमाञ्चक बन्दै जाँदा आर्सेनलले जितसँगै आफूभन्दा माथि रहेका दुई टोलीमाथिको दबाबलाई कायमै राखेको छ। पाँचौं स्थानमा रहेको आर्सेनलको ३६ खेलमा ६९ अंक छ भने ७२ अंक जोडेको सिटी चौथो स्थानमा छन्। एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको ६५ अंक छ। प्रिमियर लिगको उत्कृष्ट चार टोलीहरू अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान रहेको छ।

प्रिमियर लिगअन्तर्गत अन्य खेलहरूमा सन्डरल्यान्डलाई २–० ले हराउँदै स्वान्सी सिटीले रेलिगेसनबाट जोगिने सम्भावना बलियो पारेको छ। जितसँगै स्वान्सी सिटी तालिकाको १७औं स्थानमा उक्लिएको छ। ३७ खेलबाट स्वान्सीको ३८ अंक छ। यस सिजनमा मिडिल्सब्रो र सन्डरल्यान्ड भने प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा रेलीगेट भइसकेका छन्।