७१ प्रतिशत मतदान, जनताको उत्साहजनक सहभागिता


सुनील महर्जन, काठमाडौं
पहिलो चरणको २ सय ८१ स्थानीय तहको निर्वाचन एकाध स्थानमा बाहेक शान्तिपूर्ण रुपमा आइतबार सम्पन्न भएको छ। प्रदेश नं ३, ४ र ६ मा पर्ने ३४ जिल्लाका ६ हजार ६ सय ४२ मतदान केन्द्रमध्ये तीनवटा मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ। यसअघि नै दुई गाउँपालिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए। त्यसैले हिजो २ सय ८१ स्थानीय तहमा निर्वाचन भएको थियो। मनाङ जिल्लाको नारपूm गाउँपालिका र डोल्पा जिल्लाको शेफोक्सुण्डो गाउँपालिकामा यसअघि नै पदाधिकारी निर्विरोध निवार्चित भएका थिए।

राजधानीको एक मतदान केन्द्रबाट मतपेटीका गणनास्थलतर्फ लग्दै सुरक्षाकर्मी । तस्वीरः पोखरा⁄उजोल डंगोल, काठमाडौं

सबै मतदान केन्द्रबाट औसत रुपमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। यो प्रतिशत थोरै बढी पनि हुन सक्ने आयोगले जनाएको छ। आयोगका अनुसार सबैभन्दा कम मत रामेछापमा र सबैभन्दा बढी मत रसुवामा खसेको थियो। रामेछापमा ५४ र रसुवामा ८२ प्रतिशत मत खसेको थियो। त्यसैगरी दोलखामा ६२ प्रतिशत, सिन्धुलीमा ७५ प्रतिशत, काभ्रेपलाञ्चोकमा ६० प्रतिशत, सिन्धुपाल्चोकमा ७० प्रतिशत, नुवाकोटमा ७० प्रतिशत, धादिङमा ७५ प्रतिशत, चितवनमा ७० प्रतिशत, मकवानपुरमा ७० र भक्तपुरमा ८० प्रतिशत मत खसेको छ। त्यस्तै, ललितपुर र काठमाडौंमा ७५ प्रतिशत र गोरखामा ८० प्रतिशत मत खसेको छ।

जाजरकोटमा ७३, लमजुङमा ७१ र तनहुँमा ७० प्रतिशत मत खसेको छ। कास्कीमा ७५, मनाङमा ५८, मुस्ताङमा ७५, पर्वतमा ६५, स्याङ्जामा ७०, म्याग्दीमा ६०, बाग्लुङमा ६७, नवलपरासीमा ७३, सल्यानमा ७१, जुम्ला र मुगुमा ७०, हुम्लामा ७५, कालिकोटमा ६०, दैलेख र सुर्खेतमा ७० र रुकुममा ७५ प्रतिशत मत खसेको छ। स्थानीय तहको निर्वाचन ८३ दिनको तयारीमा सम्पन्न भएको हो। तयारी अवधि निकै कम तथा चुनावको मिति नजिकिँदा पनि निर्वाचन हुने वा नहुने अन्योलको अवस्था रहे पनि मतदाताहरूको सहभागिता उत्साहजनक रहेको थियो। मतदान केन्द्रहरूमा मतदाता बिहान ७ बज्नु अघिदेखि नै पङ्क्तिबद्ध भएर बसेका थिए। मतदानमा युवा पुस्तादेखि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दीर्घ रोगी र दृष्टिविहीनहरू पनि उत्सुकतापूर्वक सहभागी भएका देखिन्थे। सुरक्षा व्यवस्था प्रभावकारी रहेको थियो।

निर्वाचन शिक्षा प्रभावकारी नभए पनि शहरी तथा ग्रामीण क्षेत्रमा राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारहरूबाट मतदाताहरूलाई प्रशिक्षित गरिएको थियो। सञ्चारमाध्यम तथा उम्मेदवारबाट प्रेरित भएर भोट खसाल्न आएको टीकाभरैव लप्सीका मतदाता अष्टबहादुर लामाले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो। ‘स्थानीय तहमा कोही न कोही आफन्त वा साथीभाइ उम्मेदवार बन्ने भइहाल्यो। उनीहरूका लागि भए पनि भोट हाल्नुपर्ने अवस्था छ।’ –लामाले भन्नुभयो।

झन्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा समावेशी उम्मेदवार, दक्ष उम्मेदवार वा स्थानीय तह बलियो गरी बनाइएको भन्दा पनि आफ्नो पार्टी वा नातागोताका मानिसहरू उम्मेदवार बनेकाले मत खसाल्न प्रेरित गरेको भन्ने मतदाता पनि मतदान केन्द्रमा भेटिएका थिए। गोदावरी नगरपालिकाका कुमार खड्का भन्छन्– ‘स्थानीय तहमा पार्टीभन्दा नातागोता र आफन्त उठेकाले मतदान गर्न आएको हुँ।’
साविकको छम्पीकी शान्ति घिमिरेको पनि यस्तै भनाइ रहेको छ। ‘चिनजान भएका मानिसहरूले भोट खसाल्न जानुपर्दछ भने। त्यसो भएकाले भोट हाल्न आएको हुँ।’ –शान्तिले भन्नुभयो।