बाढीपीडितलाई अनुदान


गुलरिया (बर्दिया), १ जेठ । बर्दिया र बाँकेमा ०७१ को बाढीबाट प्रभावित परिवारका लागि घर निर्माण गर्न अनुदान दिन थालिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय नेपालगन्जले बाढी प्रभावित परिवारको आवास निर्माण कार्यक्रमअन्तर्गत अनुदान वितरण प्रक्रिया अघि बढाएको हो । कार्यक्रम अनुसार जग्गा नभएका पीडितलाई रु तीन लाख ५० हजार र जग्गा भएकालाई रु तीन लाख अनुदान दिइनेछ । उनीहरूका लागि पहिलो किस्ताको रु ५० हजार निकासा भइसकेको डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बर्दियामा तीन हजार ५७५ र बाँकेमा एक हजार ६५२ परिवारका लागि अनुदान रकम वितरण गर्न थालिएको हो ।

०७१ साउन २९ र ३० गते आएको बाढीले बाँकेमा १५ जनाको मृत्यु भएको थियो । जिल्ला दैवी प्रकोप उद्धार समितिको सिफारिसका आधारमा बाँकेमा बाढीबाट क्षति भएका तीन हजार २१२ मध्ये एक हजार ६५२ घर पूर्णरूपमा क्षति भएको डिभिजनको तथ्याङ्कमा उल्लेख छ । बर्दियामा तीन हजार ८५९ घर पूर्णरूपमा क्षति भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनायो ।
उनीहरूलाई भूकम्पपीडितसरह आवास निर्माण गर्ने सरकारले घोषणा गरेको थियो । पीडितले योजनाअनुसार काम सकेपछि किस्तामा रकम दिइने डिभिजनका इन्जिनियर होमनाथ भुसालले बताउनुभयो । उहाँका अनुसार बाढीपीडितको खातामा रकम जम्मा गरिनेछ ।
गुलरियाको रामपुर टप्पु, बर्दियाको बनियाभार र बासगढीको चेपाङका १६२ घर बगाएपछि उनीहरू अस्थायी टहरामा बस्दै आएका छन् । घरजग्गा बगाएका गुलरियाको रामपुर टप्पुका ४३, बनियाभारका ९८ र बासगढी चेपाङका २१ घर अझै अस्थायी रूपमा टहरोमा बस्न बाध्य छन् ।
पुनस्स्थापनामा ढिलाइ हुँदा कष्टकर जीवन बिताउनुपरेको बाढीपीडितले बताएका छन् । रासस