खुकुरी प्रहार गरी एक युवकको हत्या


ताप्लेजुङ, १ जेठ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आइतबार खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ ।

फुङ्लिङ नगरपालिका–१० फुरुम्बु घर भएका वर्ष २६ का टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बूको खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

प्रहरीका अनुसार सदरमुकामस्थित कफी हाउस लाइनमा साँझ करिब ७ः३० बजे सबाहाङ माथि तीन÷दुई जनाको समूहद्वारा खुकुरी प्रहार भएको थियो । पेटमा गहिरो चोट लागेका उनलाई उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बताइएको छ ।

घटनामा संलग्न फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका सुमन लिम्बू घटनास्थलबाटै पक्राउ परेका छन् भने घटनामा संलग्न रहेका अन्य फरार रहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट तीन÷चारजनाको संलग्नता रहेको पाइएको छ । मृतक तवेबुङ सदरमुकाममा नै डेरा गरी बस्दै आएका थिए । रासस