चेल्सी प्रिमियर लिग च्याम्पियन

0
Shares

लन्डन, (एजेन्सी)
वेस्ट ब्रोममा मिची बाटशुआयीको ढिलो गोलसँगै चेल्सी यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ।

शुक्रबार राति चेल्सीका खेलाडी र समर्थकले च्याम्पियन बनेर खुसीयाली मनाउने धुनमा थिए। यसका लागि एन्टोनीयो कोन्टेको टोलीले गोल भने गर्न सकिरहेको थिएन्। ८२औं मिनेटमा सब्सिच्युट खेलाडी मिचीले गोल गरेपछि चेल्सीले च्याम्पियन बन्ने मौका पाएको थियो। उनी ३ करोड ३० लाख पाउन्डमा मार्सेलीबाट चेल्सी आएका हुन्। चेल्सी त्यही एक निर्णायक गोलमा वेस्ट ब्रोमवीचलाई १–० ले हराएको थियो।

चेल्सी ३६ खेलबाट ८७ अंक जोडेर पछिल्ला तीन सिजनमा दोस्रो पटक च्याम्पियन बनेको हो। दोस्रो स्थानमा रहेको टोटनह्यामको ७७ अंक छ। तीन खेल खेल्न बाँकी भएको टोटनह्याम च्याम्पियन चेल्सीसँग १० अंकले पछि रहेको छ। टोटनह्यामले गत खेलमा हार बेहोर्नु पनि चेल्सीका लागि उपाधि जित्न ढोका खुला भएको थियो।

नीलो जर्सीले दुई खेल खेल्न बाँकी हुँदै प्रिमियर लिग उपाधि जित्दा टोटनह्यामको च्याम्पियन बन्ने आशा पनि सकियो। यो उपाधि दिलाएका कोन्टे यस सिजनमा अर्को उपाधि नजिक पनि छन्। मे २७ मा वेम्बलीमा हुने एफए कप फाइनलमा चेल्सीको सामना आर्सेनलसँग हुनेछ। यदि यो जितेमा कोन्टे दोहोरो उपाधि जित्ने क्लबका मेनेजर बन्नेछन्।

चेल्सीको उपाधि जितपछाडिको तथ्य
चेल्सीले छैटौं प्रमुख उपाधि जितेको छ भने प्रिमियर लिग पाँचौं पटक जितेको छ।
म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग उपाधि सबैभन्दा बढी १३ पटक जितेको छ।
शुक्रबार इंग्लिस शीर्ष उपाधि जित्ने चेल्सी आर्सेनलपछि पहिलो क्लब हो।
आर्सेनलले सन् १९८९ मा एन्फिल्डमा शुक्रबार नै प्रिमियर लिग जितेको थियो।
इंग्लिस शीर्ष उपाधि जित्नेमा कोन्टे चौथो इटालियन मेनेजर हुन्।

यसअघि कार्लो एन्सेलोटी, रोबेर्टो मान्चिनी र क्लाउडियो रानिइरी छन्।
ब्रिटेनमा चुनाव हुने वर्ष चेल्सीका लागि वरदान सावित भएको छ। यसै वर्ष त्यहाँ चुनाव हुन गइरहेको छ।

चेल्सीले ब्रिटेनमा चुनाव हुँदा १९५५, २००५, २०१०, २०१३ वर्षमा उपाधि जितेको थियो।