रोमाञ्चक खेलमा पन्जाबको जित


नयाँ दिल्ली, (एजेन्सी)
इन्डियन प्रिमियर लिग (आईपीएल १०) अन्तर्गत बिहीबार रोमाञ्चक खेल जितेर किंग्स इलेवन पन्जाबले प्लेअफ खेल्ने आशा जीवित राखेको छ।

मुम्बईस्थित वानखेडे स्टेडियममा रन वर्षा भएको खेलमा किंग्स इलेवन पन्जाबले घरेलु टोली मुम्बई इन्डियन्सलाई केवल ७ रनले हराएको थियो। प्लेअफको दौडमा बनिरहन यो खेल पन्जाबका लागि जित्नै पर्ने दवाव थियो। मुम्बईले भने प्लेअफमा स्थान पहिल्यै बनाइसकेको थियो।

पन्जाबले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३० रनको ठूलो योगफल बनाएको थियो। जवाफमा मुम्बईले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २३ रन जोडेको थियो।
अर्थात् यो खेलमा कुल ४ सय ५३ रन बनेको थियो। यो आईपीएलको इतिहासमा सबैभन्दा ज्यादा रन थियो। पन्जाबले यो जितसँगै १३ खेलमा १४ अंक छ भने टोलीलाई दुई अंक अझै प्राप्त गर्ने अवसर छ। अन्तिम खेलमा सनराइजर्सविरुद्ध खेल्नेछ र जितेमा प्लेअफमा स्थान बनाउन सकिनेछ।

खेलको अन्तिम ओभरमा सबैभन्दा रोमाञ्चक क्षण भएको थियो। पन्जाबका कप्तान ग्लेन म्याक्सवेलले मोहित शर्मालाई बल ठम्याएका थिए। ज्यादै नै कठिन स्थितिमा म्याक्सवेलको निर्णय सार्थक बनेको थियो। जबकि उनले पहिले तीन ओभरमा ४९ रन खर्चेर महँगो साबित भइसकेका थिए। उनले चौका छक्का प्रहार गरिरहेका कीरान पोलार्ड नियन्त्रणमा राखेका थिए।

मुम्बईलाई अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक थियो। तर पोलार्डले मोहितको बलमा ८ रन मात्रै बटुलेका थिए। पहिलो बलमा दुई रन उनले लिए पनि अम्पायरले एक रन काटेका थिए। अर्को बलमा पोलार्डले छक्का प्रहार गरेर मुम्बईको आशा कायम राखे। तर अर्को चार बलमा उनले केवल एक रन मात्रै बनाएका थिए।

मुम्बईका लागि पोलार्डले २४ बलमा ५० रन जोडेर नटआउट रहेका थिए।

उनले पाँच छक्का प्रहार गरेका थिए। त्यस्तै अर्का वेस्ट इन्डिज खेलाडी लेन्डल सिमोन्सले पनि सानदार ब्याटिङ गरेका थिए। उनले ३२ बलमा ५९ रन बनाएर आउट भएका थिए। म्याक्सवेलको बलमा आउट हुनुअघि उनले पाँच चौका र चार छक्का प्रहार गरे। त्यस्तै पार्थिव पटेलले सात चौकाको सहयोगमा ३८ रनको योगदान दिएका थिए। हार्दिक पाण्डेले चार छक्का प्रहार गरेर ३० रन बनाएका थिए।

यसअघि रिद्धिमान साहा, म्याक्सवेल र मार्टिन गप्टिलले विस्फोटक ब्याटिङ गरेर पन्जाबलाई ठूलो स्कोरमा पुर्याएका थिए। प्लेयर अफ द म्याच साहाको ब्याटिङ उत्कृष्ट बनेको थियो। ९३ रन बनाएका उनले ५५ बलमा ११ चौका र ३ छक्का प्रहार गरे। नटआउट रहे पनि उनी सात रनले शतकबाट भने चुकेका थिए। यस्तै म्याक्सवेलले पाँच छक्कासँगै ४७ रन जोडे भने गप्टिलले १८ बलमा ३६ रनको आक्रामक इनिङ खेलेका थिए।