ईश्वरराज ढकाल, काठमाडौं
‘मेरो मनखाने मान्छेलाई लैजान्छु, यो उम्मेदवारको चिह्नमा स्वस्तिक छाप लगाइदिनुस् भन्छु र त्यही आधारमा मतदान गर्नेछु। अरु उपाय नै छैन के गर्ने? हामीले त निर्वाचन आयोगलाई पटकपटक भन्यौं, डेलिगेसन पनि गयौं निर्वाचन आयोगले केही पनि गरेन, हाम्रो मत कसलाई जान्छ भन्ने कुरा हामीलाई नै विश्वास छैन’, –नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले भन्नुभयो– ‘भोट त दिन्छौं तर विश्वासका आधारमा।’
‘मेरो मतको अधिकार त मसँग मात्रै हुन्छ, गोप्य मतदान गरौं भनेर प्रचार गरेको आयोगले हाम्रो विषयमा नसोचिदिँदा हामीलाई गम्भीर समस्या परेको छ’, आयोगप्रति दुःख व्यक्त गर्दै पोखरेलले अगाडि भन्नुभयो– ‘हामीले त विद्युतीय उपकरणमार्फत भोट हाल्न पाऔं भनेका थियांै। तर आयोगले मान्दै मानेन। निर्वाचनको मताधिकारको विषयमा आयुक्त इला शर्मासँग भेट गरेका थियौं, उहाँले यसपटकलाई सरी भनिदिनुभयो।’
‘मैले कसलाई भोट दिने भन्ने अधिकार मसँग मात्रै हुन्छ, यसमा त मेरो परिवारको पनि विश्वास हुँदैन, सहयोगी लिएर जाने हो। यसमा भोट हालिदिनुस् भन्छौं उनीहरूले ठीक ठाउँमा भोट हाल्छन् कि हाल्दैनन् त्यो पनि शंकाको घेरामा हुन्छ।’ –उहाँले भन्नुभयो। ‘आयोगलाई यसबारे सम्झाउँदा कर्मचारी वा मतदान अधिकृतको सहयोगमा भोट हाल्नुस् भन्ने जवाफ दिइयो।’ –उहाँको भनाइ थियो। मतदान गर्न जाँदा प्राथमिकता त दिन्छन् तर कुनै पनि सवारी साधनको व्यवस्था नहुँदा समस्या पर्ने गरेको उहाँको भनाइ थियो।
अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले भन्नुभयो– ‘निर्वाचनका बेला हामीलाई न सवारी साधनको व्यवस्था छ, त न कुनै सुविधा नै। हामीले विशेष व्यवस्था गर्ने माग गरेका थियौं, आयोगले सुनेन।’ अपाङ्ग भएका व्यक्तिलाई मतदान केन्द्रसम्म जाने व्यवस्था नभएका कारण समस्या भएको उहाँको भनाइ थियो।
‘हामी आफ्नो मताधिकार सुरक्षित गर्छौं, हामीलाई केन्द्रसम्म जाने सवारी साधनको व्यवस्था गरिदिनुस् भन्यौं’,
‘तर, आयोगले हामीसँग सामथ्र्य छैन भन्ने जवाफ फर्कायो।’ –उहाँको भनाइ थियो। जेष्ठ नागरिकको पनि समस्या उस्तै छ। जेष्ठ नागरिकलाई सरकारले कुनै सुविधा उपलब्ध गराएको छैन। ‘हामीले माग गर्यांै तर कुनै सुनुवाइ भएन।’ –जेष्ठ नागरिक कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यले नेपाल समाचारपत्रसँग भन्नुभयो। भर्खरै गठन भएको कोषले मतदानका लागि केन्द्रसम्म पुर्याउन सवारी साधनको माग गरेको थियो।
तर, आयोगले सुनुवाइ गरेन कर्र्मचार्यले भन्नुभयो। उहाँले निर्वाचन आयोगका आयुक्त इला शर्मासँग छलफल गर्दा उहाँले तत्कालका लागि कुनै पनि व्यवस्था गर्न नसक्ने जानकारी गराउनुभएको कर्मचार्यले बताउनुभयो। आयोगले मतदान गर्दा जेष्ठ नागरिकलाई लाइनमा बस्न नपर्ने मात्रै व्यवस्था गरेको छ।
कर्माचार्यले भन्नुभयो– ‘जेष्ठ नागरिकलाई समस्या परेको विषयमा आयोगलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएकोमा गुनासो गर्दै जेष्ठ नागरिकप्रति सरकारले वेवास्ता गर्यो।’ सरकारले निर्वाचनका दिन सवारी साधनको व्यवस्था गर्नुपथ्र्यो तर गरेन, निर्वाचन प्रयोजनका लागि सवारी अनुमति प्राप्त चालकले ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई मतदान केन्द्रसम्म लैजाने व्यवस्था गर्दा सबैलाई सहज हुने उहाँको भनाइ थियो।
आयोगले वितरण गरेको पासमा मतदाता बोक्ने सवारी चालकको सवारी चालक अनुमतिपत्र खारेज गर्नेसम्मको व्यवस्था गरेको छ। यस कारण लाखौंको संख्यामा रहेका दृष्टिविहीन, अपाङ्ग र जेष्ठ नागरिकलाई गम्भीर समस्या पर्ने भएको छ। आयोगसँग भेट गर्न गएका तीनवटै संस्थाका प्रतिनिधिलाई दोस्रो चरणको निर्वाचनमा यस्तो व्यवस्था गर्ने जानकारी गराइएको थियो।
प्रतिक्रिया